Surakshya Rastriya Dainik
शनिबार, १२ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा दही–चिउरा पर्व आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। किसानहरू खेतमा धान रोपाइँ गर्दै दही–चिउरा खाएर पर्व मनाइरहेका छन् भने अन्य पेसा तथा व्यवसायमा आबद्ध नेपालीहरूले पनि दही–चिउरा सेवन गरी यस दिनलाई विशेष रूपमा मनाइरहेका छन्।

नेपाली समाजमा असार १५ लाई कृषि संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ। खेतमा कामको चटारोपछि दही–चिउरा खाँदा शरीरमा शीतलता मिल्ने, ऊर्जा प्राप्त हुने र पाचन शक्ति बढ्ने विश्वास रहिआएको छ। वैज्ञानिक दृष्टिले पनि दही स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

नेपाली संस्कृतिमा दहीको विशेष महत्व छ। शुभकार्यका लागि घरबाट निस्कँदा, विदेश यात्रा गर्दा वा अन्य महत्वपूर्ण काममा जाँदा दहीलाई सगुनका रूपमा खुवाउने तथा दही–अक्षता मुछेर निधारमा टीका लगाउने परम्परा अझै कायम छ।

आयुर्वेदमा पनि दही र मोहीलाई स्वास्थ्यवर्द्धक मानिएको छ। भोजनपछि दही मथेर बनाइएको मोही पिउनाले स्वास्थ्य राम्रो रहने उल्लेख गरिएको छ। पखाला लागेका बेला दही–चिउरा सेवन गर्दा पनि लाभदायक हुने विश्वास छ।

राष्ट्रिय धान दिवसको सुरुवात विसं २०६२ असार १५ गतेदेखि भएको हो। विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यो दिवस औपचारिक रूपमा मनाउन थालिएको थियो। कृषिप्रधान देश नेपालमा अधिकांश नागरिकको मुख्य पेसा कृषि भएकाले यस दिवसको विशेष महत्व रहेको छ।

असार महिनामा किसानहरू वर्षभरका लागि अन्न उत्पादन गर्ने धान रोपाइँमा व्यस्त हुन्छन्। यस अवसरमा खेतमा असारे भाका, लोकदोहोरी तथा रोपाइँ गीत गाउँदै हिलोमा रमाइलो गर्ने परम्परा पनि जीवित छ। युवायुवतीहरू हिलो छ्यापाछ्याप गर्दै रोपाइँलाई उत्सवका रूपमा मनाउने गर्छन्।

यद्यपि, यस वर्ष असार मध्यसम्म पनि देशका अधिकांश क्षेत्रमा पर्याप्त वर्षा हुन नसक्दा अपेक्षाअनुसार धान रोपाइँ हुन सकेको छैन। समयमै पर्याप्त वर्षा नभए उत्पादनमा असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech