काठमाडौं । ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ चढ्ने सरकारी सवारीसाधनमा जडान गरिएको कालो सिसाको स्टिकर हटाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट डीएसपी सुनिलजंग शाहको नेतृत्वमा खटिएको टोलीले सिंहदरबार पुगेर गृहमन्त्री र गृहसचिव चढ्ने सरकारी गाडीको कालो सिसा हटाएको हो।
यसअघि गृहमन्त्री गुरुङले ट्राफिक प्रहरी कार्यालय पुगेर आफ्नै सरकारी गाडीबाट कालो सिसा हटाउन निर्देशन दिँदै नियम सबैका लागि समान हुने उल्लेख गरेका थिए। उनले कालो सिसा हटाउने अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउन पनि निर्देशन दिएका छन्।
ट्राफिक प्रहरीले आइतबारदेखि निजी तथा सार्वजनिक सवारीसाधनमा जडान गरिएका कालो सिसाका स्टिकर हटाउने अभियान सञ्चालन गरिरहेको छ।
प्रहरीका अनुसार कालो सिसाको दुरुपयोग गरी लागूऔषध तथा साना हतियार ओसारपसार, सुन तस्करी तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको आवतजावत सहज हुने गरेको पाइएको छ। अपराधी फरार हुन समेत कालो सिसा भएका सवारीसाधन प्रयोग भएको निष्कर्षपछि अभियानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार अधिकार प्राप्त निकायको स्वीकृतिबिना सवारीसाधनको रङ, स्वरूप, सिट संख्या, इन्जिन, चेसिस वा अन्य संरचनात्मक परिवर्तन गर्न पाइँदैन। सोही कानुनी व्यवस्थाअनुसार ट्राफिक प्रहरीले नियमविपरीत जडान गरिएका कालो सिसा हटाउने अभियानलाई निरन्तरता दिएको जनाएको छ।







