काठमाडौं। नेपाल प्रहरीका प्रहरी निरीक्षक (प्राविधिक) डा. ज्योती शर्मा प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको ३४औँ समूहमा अध्ययनतर्फ प्रथम हुन सफल भएकी छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहमा अध्ययनतर्फ उत्कृष्ट प्रदर्शन गरेका डा. शर्मासहित अन्य उत्कृष्ट प्रशिक्षार्थीहरूलाई प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी सिद्धिविक्रम शाहले प्रमाणपत्र प्रदान गरे।


समारोहमा डिआईजी दिनेश कुमार आचार्यले प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराएका थिए भने तालिम संयोजक एसपी अनुपम श्रेष्ठले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
एआईजी सिद्धिविक्रम शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीका आफन्त तथा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
नेपाल प्रहरीले तालिम सफलतापूर्वक सम्पन्न गरेका सम्पूर्ण प्रशिक्षार्थीलाई बधाई दिँदै आगामी कार्यकालमा उनीहरूले व्यावसायिक, अनुशासित तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।





