काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक घर भई काठमाडौं गोकर्णेश्वर–४ बस्ने ४२ वर्षीय वाङ्दी लामा, रामेछाप घर भई भक्तपुर मध्यपुर थिमी–४ बस्ने ३८ वर्षीय ललित बहादुर तामाङ, धादिङ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने ३४ वर्षीया सन्तोषी लामा, काठमाडौं चन्द्रागिरी–८ बस्ने ४१ वर्षीय रामदास महर्जन तथा काठमाडौं महानगरपालिका–१५ बस्ने २९ वर्षीय सरिब गिरी रहेका छन्।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार वाङ्दी लामाले अजरबैजान पठाइदिने भन्दै एक जना पीडितबाट ५० हजार रुपैयाँ, ललित बहादुर तामाङले कोसोभो पठाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ, सन्तोषी लामाले स्पेन पठाइदिने भन्दै १५ लाख रुपैयाँ, रामदास महर्जनले युएई पठाइदिने भन्दै सात जना पीडितबाट ४५ लाख रुपैयाँ तथा सरिब गिरीले क्यानडा पठाइदिने भन्दै एक जना पीडितबाट २० लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। वाङ्दी, ललित बहादुर र सन्तोषीलाई शनिबार पक्राउ गरिएको थियो भने रामदास र सरिबलाई पनि काठमाडौंबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।





