काठमाडौं । अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई बन्दी बनाएपछि अन्य ल्याटिन अमेरिकी देशमा पनि अमेरिकी हस्तक्षेप हुन सक्ने आशंका बढेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री मार्को रुबियोलाई क्युबाको राष्ट्रपति बनाउने आशयको एक सामाजिक सञ्जाल पोस्ट सेयर गर्दै त्यसप्रति आफू सकारात्मक रहेको संकेत दिएका छन्।
ट्रम्पको व्यक्तिगत स्वामित्वमा रहेको सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक प्रयोगकर्ताले लेखेकी थिइन्— ‘मार्को रुबियो क्युबाको राष्ट्रपति हुनेछन्।’ उक्त पोस्ट सेयर गर्दै ट्रम्पले ‘मलाई राम्रो लाग्यो’ भनेर प्रतिक्रिया दिएका हुन्।
यसलाई लिएर ल्याटिन अमेरिकी देश क्युबालाई लक्षित गर्दै ट्रम्पले समयमै अमेरिकासँग सम्झौता गर्न चेतावनीसमेत दिएका छन्। यद्यपि सामाजिक सञ्जालमा टिप्पणी भए पनि अमेरिकी प्रशासनले क्युबामा तत्काल सैन्य हस्तक्षेप गर्ने विषयमा औपचारिक रूपमा केही नबोलेको जनाएको छ।
भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपपछि सामाजिक सञ्जालमा अन्य देशमाथि पनि अमेरिकाको सम्भावित आक्रमणको चर्चा तीव्र बनेको छ। गत साता ट्रम्पले कोलम्बियालाई ‘एक बिरामी व्यक्तिद्वारा शासित देश’ भन्दै टिप्पणी गरेका थिए। साथै, कोलम्बियामा सम्भावित अमेरिकी कारबाही हुने प्रश्नमा उनले सहमति जनाएका थिए।
ट्रम्पले क्युबालाई भेनेजुएलाको तेलमा निर्भर भएर पतन भएको देशको रूपमा चित्रण गरेका छन्। आर्थिक संकट चुलिएको क्युबामा अमेरिकी हस्तक्षेप आवश्यक नरहेको समेत उनले बताएका छन्।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्— ‘क्युबा कयौँ वर्षसम्म भेनेजुएलासँग भारी मात्रामा तेल र धनमा निर्भर रह्यो। उसले भेनेजुएलाका पछिल्ला दुई तानाशाहलाई सुरक्षा सेवा पनि प्रदान गर्यो, तर अब त्यो हुँदैन।’
उनका अनुसार भेनेजुएली शासकको सुरक्षामा खटिएका अधिकांश क्युबाली सुरक्षाकर्मी पछिल्लो हप्ता भएको अमेरिकी आक्रमणमा मारिएका छन्। ‘भेनेजुएलालाई अब ती गुण्डा र जबरजस्ती असुली गर्नेहरूबाट सुरक्षाको आवश्यकता छैन, जसले उनीहरूलाई बन्धक बनाएर राखेका थिए,’ ट्रम्पले भनेका छन्।

अब भेनेजुएलाको साथमा अमेरिका रहेको दाबी गर्दै ट्रम्पले त्यहाँका नागरिकको सुरक्षा अमेरिकी सेनाले गर्ने बताएका छन्। ‘भेनेजुएलाको साथमा अब संयुक्त राज्य अमेरिका छ, जससँग संसारकै शक्तिशाली सेना छ र जसले उनीहरूको रक्षा गर्नेछ,’ उनले उल्लेख गरेका छन्।
साथै ट्रम्पले क्युबालाई अब तेल र पैसा नदिने चेतावनी दिँदै ढिला नगरी सम्झौता गर्न आग्रह गरेका छन्। ‘क्युबालाई अब तेल र पैसा जाँदैन—शून्य। धेरै ढिलो हुनुभन्दा पहिले सम्झौता गरून्,’ ट्रम्पले चेतावनी शैलीमा भनेका छन्।








