२९ चैत २०८२ कोहलपुर ; – जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालकको दृष्टि अवरोध गर्ने तथा विपरीत दिशाबाट आउने सवारीका चालकलाई चिम्मिङ (Glare) गर्ने लाइटका कारण बाँके जिल्लामा बढ्दो सवारी दुर्घटना रोक्न साप्ताहिक सशक्त अभियान सञ्चालन गरेको छ।
अभियान अन्तर्गत सार्वजनिक तथा निजी सवारी साधनमा मनपरी ढंगले जडान गरिएका दृष्टि अवरोधक सामग्री र चिम्मिङ लाइटहरू नियन्त्रणमा लिई कानूनी कारबाही गरिएको छ।


ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख कनन बहादुर शाहिका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेसँगको समन्वयमा कार्यालय तथा मातहतका पोस्टबाट संयुक्त रूपमा सञ्चालन गरिएको एक हप्ते साप्ताहिक अभियानमा जम्मा ६८५ वटा सवारी साधन चेकजाँच गरिएको थियो।
तीमध्ये २०० थान अस्वाभाविक फूल, झिल्ली, माला तथा अन्य दृष्टि अवरोध गर्ने सामग्री र १,१७४ थान चिम्मिङ गराउने फोकस लाइट, फग लाइट, शो लाइट तथा तिनमा प्रयोग भएका तारहरू नियन्त्रणमा लिई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।ट्राफिक प्रहरीका अनुसार बाँके जिल्लामा हुने अधिकांश दुर्घटनाको प्रमुख कारण चालकको अगाडिको दृश्यमा अवरोध हुनु तथा विपरीत दिशाबाट आउने चालकको आँखामा तीव्र प्रकाश (Glare) पर्नु रहेको पाइएको थियो।
उक्त अभियानले अहिले स्थानीय सडक सुरक्षामा उल्लेखनीय सकारात्मक प्रभाव देखिएको स्थानीय प्रशासनले जनाएको छ। ट्राफिक प्रहरीले यस्ता अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जनाउँदै सबै चालकलाई सवारी नियम पालना गर्न तथा अनधिकृत लाइट र सजावटका सामग्री नराख्न अनुरोध गरेको छ।






