३० बैशाख २०८३ पर्सा ;- बुधबार नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले “प्रहरीको दैलोमा आउने मानिस पीडा बोकेर आउँछन्, उनीहरू निराश भएर फर्किनु हुँदैन” भन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय सिम्रौनगढको परिसरमा नवनिर्मित उक्त केन्द्रको आज बुधबार एक विशेष समारोहबीच आईजीपी कार्कीले उद्घाटन गर्नु भएको छ । सो अवसरमा उनले पीडितमैत्री प्रहरी सेवा सञ्चालनको लागि यो केन्द्र कोशेढुङ्गा साबित हुने बताउनुभएको छ।
नवनिर्मित सेवा केन्द्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई एकै छानामुनि मनोसामाजिक परामर्श, कानुनी सहायता, उजुरी दर्ता, तत्काल राहत तथा परामर्श सेवा उपलब्ध गराउनेछ। साथै, पीडितलाई निराश नबनाई सशक्तिकरणको बाटो देखाउने लक्ष्य राखिएको छ।
उद्घाटन समारोहमा आईजीपी कार्कीले भवन निर्माण तथा सञ्चालनमा सहयोग पुर्याउने सबै संघसंस्थाको नाम सार्वजनिक गर्दै धन्यवाद ज्ञापन गरे।
पछिल्लो समय UNOPSले नेपाल प्रहरीको पुर्वाधार विकास ,क्षामता अभिवृद्धि र सेवा सुधारमा पुर्याएको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको बताउदै UNOPS ले हालसम्म ४४ वटा सेवा केन्द्र भवन निर्माण सम्पन्न गरिसकेको र थप ८ वटा निर्माणाधिन रहेको जानकारी दिनुभएको छ।


प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो “यो केन्द्र पीडितको सहाराको थलो बन्नेछ। सेवा लिन आउने हरेक नागरिक सम्मान र सहानुभूतिपूर्वक सेवा पाएर मात्र फर्किने वातावरण निर्माण गरिनेछ।”
उद्घाटनपश्चात् केन्द्रले तत्काल सञ्चालनको तयारी थालेको छ। यसले सिम्रौनगढसहित आसपासका सीमान्तकृत तथा पीडित समुदायका लागि राहत र न्यायको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।






