०३ जेठ २०८३ घोराही, दाङ ; – संजिवनि टिचिङ अस्पताल घोराही दाङ र शान्तिनगर गाउँपालिकाको संयुक्त आयोजनामा शनिबार विशेषज्ञ चिकित्सकसहितको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सो शिविरबाट करिब ६०० जना बिरामीले सेवा लिएका छन्।
अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गाउँपालिकासँगको सहकार्यमा शिविर सञ्चालन गरेको हो। शिविरमा साधारण रोगदेखि मुटु, मधुमेह, प्रेसर, महिला तथा बालरोग विशेषज्ञले सेवा दिएका थिए। स्थानीय जनताले घरदैलोमै पुगेर विशेषज्ञको सेवा पाउँदा खुसी व्यक्त गरेका छन्।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले उक्त शिविर पालिकाभित्रको स्वास्थ्य सेवाको पहुँच अभिवृद्धिका लागि कोसेढुङ्गा भएको बताए। उनले भने, “यस किसिमको सहकार्यले हाम्रा नागरिकलाई गुणस्तरीय उपचारमा पहुँच बनाइदिएको छ। हामी थप सहकार्यका लागि सधैं तयार छौं।”
लुम्बिनी प्रदेशमा गुणस्तरीय र प्रभाकरि स्वास्थ्य सेवा ;-
पश्चिम नेपालमा स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारी बनाउन लुम्बिनी प्रदेशको राजधानी समेत रहेको दाङ जिल्ला सदरमुकाम घोराही उपमहानगरपालिका-३ भानपुरमा करिब ३०० शैय्याको अस्पताल सञ्चालनमा छ। उक्त अस्पतालले यही असार मसान्तसम्म ओपीडी सेवा पूर्णरूपमा नि:शुल्क गरेको अस्पताल निर्देशक डा. लुना शर्मा अर्यालले जानकारी दिइन्।
डा. अर्यालका अनुसार, अस्पतालले आफ्नो स्थापनाकालदेखि नै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी काम गर्दै आएको छ। उनले भनिन्, “हाम्रो लक्ष्य सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु हो। नि:शुल्क ओपीडी सेवा त्यसकै एउटा भाग हो।”
पालिका अध्यक्ष प्रमोद बस्नेतले सम्बोधन गर्दै भन्नु भयो ;
संजिवनि टिचिङ अस्पताल पश्चिम नेपालकै एक आधुनिक र सम्भावनायुक्त स्वास्थ्य केन्द्रको रूपमा विकास हुँदै गएको छ। आफैंमा ३०० बेडको क्षमता भएको यो अस्पतालले सुरुकै दिनदेखि सामाजिक उत्तरदायित्व बहन गर्नु अत्यन्तै प्रशंसनीय छ। असार मसान्तसम्म नि:शुल्क ओपीडी सेवा दिनुले अस्पताल नाफा मात्र नभई सेवालाई केन्द्रित राखेर अघि बढेको पुष्टि हुन्छ।
आगामी दिनमा यस अस्पतालले जिल्ला तथा प्रदेशकै अग्रणी चिकित्सा संस्थाको रूपमा विशेष सेवा जस्तै हृदयरोग, स्नायुरोग, मिर्गौला प्रत्यारोपण, क्यान्सर उपचारजस्ता जटिल सेवा पनि विस्तार गर्न सकेको खण्डमा प्रदेशवासीलाई ठुलो राहत हुनेछ। साथै, स्थानीय जनतासँग थप सहकार्य गरी सचेतनामूलक कार्यक्रम, खोप अभियान र महिला बाल स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ। अस्पताल व्यवस्थापनको यस सकारात्मक सोचलाई पालिकाले पनि हौसला र सहयोग गर्ने विश्वास लिएका छौं। पालिका र अस्पतालको साझेदारीले यो क्षेत्रको स्वास्थ्य क्रान्ति नै ल्याउने निश्चित छ।


स्थानीयवासी उत्साहित ;
शिविरमा उपचार सेवा लिएका स्थानीयले पालिका र अस्पतालको यो साझेदारीले ग्रामीण इलाकाका बिरामीको ज्यान बचाउन ठूलो टेवा पुगेको बताएका छन्। एक सेवाग्राहीले भने, “धेरै पैसा हुनेले मात्र पहिले अस्पताल जान पाउँथ्यो। अब हाम्रो गाउँमै पनि विशेषज्ञ चिकित्सकले देख्नुभयो, साँच्चै खुसी लाग्यो।”
अस्पतालले भविष्यमा पनि अन्य पालिका तथा स्थानीय निकायसँगको सहकार्यमा नियमित स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ। उक्त शिविरमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोका ,प्रमुख प्रशासकीय अधिकृत अनिल अर्याल अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. बाचसपति सुवेदी ,सर्जन डा. रविन आचार्य ,हार्डजोर्नि विशेषज्ञ डा. दुर्गा बेलबासे ,स्त्रीरोग विशेषज्ञ डा. गोमा रिमाल,नाक कान घाँटी रोग विशेषज्ञ डा. विप्लव रिमाल ,बालबिषेशज्ञ डा. सन्दिप पोख्रेल ,रेडियोलोजिस्ट डा. जिसन ध्वज के सि लगायत अस्पतालका स्वास्थ्य कर्मिहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।






