कोहलपुर (बाँके), १६ भदौ। संघीय शिक्षा विधेयक २०८० का प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन), एन–प्याब्सन लगायतका निजी क्षेत्रका विद्यालयहरूले देशभर चरणबद्ध आन्दोलन चलाईरहेका छन्। सोही अभियानअन्तर्गत कोहलपुरमा आइतबार विद्यालयहरूले सवारीसाधन र्याली आयोजना गरी विरोध प्रदर्शन गरेका छन्।


नगरस्तरीय विद्यालयहरूको छाता संगठनको आयोजनामा भएको र्यालीमा पहेंला स्कुल बस तथा अन्य सवारीसाधनमा कालो ब्यानर र झण्डा बाँधिएको थियो। र्याली कोहलपुर–१० हाईस्कुलबाट सुरु भई हवल्दारपुर हुँदै सुर्खेत रोडमार्ग पार गरेर कोहलपुर चौराहामा पुगेर समापन गरिएको थियो।
प्याब्सनका जिल्ला सल्लाहकार दिनेश सिग्देल, उपाध्यक्ष महेन्द्र शर्मा, सल्लाहकार यमबहादुर रावतसहितका नेताहरूको अगुवाइमा र्याली निकालिएको नगर समिति कोहलपुरले जानकारी दिएको छ।
प्याब्सनले शिक्षा विधेयकमा राखिएका केही प्रावधान कार्यान्वयनयोग्य नभएको दाबी गर्दै विरोध जनाउँदै आएको छ। विशेषगरी ‘निजी विद्यालयलाई गैरनाफामूलक बनाइने’ भन्ने वाक्यांश र ‘पूर्ण छात्रवृत्ति’ भन्ने व्यवस्था हटाउनुपर्ने उसको माग छ। संगठनले हाल लागू भइरहेको विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र त्यस अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क तथा मासिक पढाइ शुल्क कायम रहनुपर्ने अडान राखेको छ।
प्याब्सनले माग सम्बोधन नभए चरणबद्ध आन्दोलनलाई अझ तीव्र बनाइने चेतावनीसमेत दिएको छ।






