काठमाडौं — नेपाल स्काउट शुद्धीकरण अभियान समितिले शनिबार स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यालय परिसरमा धर्ना दिएको छ। कार्यालयभित्र निर्देशक पदका लागि अन्तर्वार्ता भइरहेकै बेला समितिले बाहिर विरोध प्रदर्शन गरेको हो।


धर्नाका क्रममा प्रहरीसँग धकलाधकेल समेत भएको बताइएको छ। समितिका संयोजक देवदूत अधिकारीले बहालवाला निर्देशक हुँदाहुँदै नयाँ भ्याकेन्सी निकालिएको भन्दै नियुक्ति प्रक्रिया अवैधानिक रहेको दाबी गरे। उनले प्रमुख आयुक्तको विषयमा अदालतमा मुद्दा विचाराधीन रहँदा नयाँ नियुक्ति गर्न नमिल्ने पनि बताए।
अधिकारीका अनुसार तत्कालीन मन्त्री तेजुलाल चौधरीले निर्वाचित प्रमुख आयुक्तलाई हटाएर आफ्नो निकट व्यक्ति देवराज घिमिरेलाई नियुक्त गरेका थिए। उनले स्काउटभित्रको भ्रष्टाचार र अनियमितताबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न माग गरे।
निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले पनि आफूलाई कानुनी प्रक्रिया नपुर्याई पदबाट हटाइएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको बताएका छन्। उनका अनुसार मुद्दा चलिरहेका बेला निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाउनु अनुचित हो।





