काठमाडौं— काठमाडौँ महानगरपालिका–१२ टेकु ह्युमतबाट प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्थानीय १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही रहेका छन्।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका क्रममा उनको घरबाट हतियार र गोली समेत फेला पारिएको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट ९२० मिलिग्राम ब्राउन सुगर, नगद ३२ हजार रुपैयाँ, र मोबाइल फोन पाँच थान बरामद गरेको जनाएको छ। त्यसपछि उनीहरूका घर तलासी गर्दा रिभल्वर दुई थान र छ राउण्ड गोली समेत फेला परेको हो।
एसपी काजीकुमार आचार्यका अनुसार, “हाम्रो टोली र प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले लागुऔषधसहित दुबै जनालाई पक्राउ गरेको थियो। थप अनुसन्धानका क्रममा शनिबार उनीहरूको घरमा लुकाइराखिएका रिभल्वर र गोली पनि बरामद गरिएका छन्,” उनले भने।
प्रहरीले पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ऐन र आयुध ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।





