काठमाडौं ; भदौ २३-२४ को जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन काठमाडौं प्रहरीका अपरेशन कमाण्डर प्रहरी नायब उपरीक्षक सुन्दर तिवारी संग बिहीबार बयान लिएको हो ।
आयोग स्रोतका अनुसार, संगठनको नीति र निर्देशनको अधीनमा रही आफूले जिम्मेवारी निर्वाह गरेको भन्दै आफ्नो तजबिजमा कुनै पनि काम नगरेको डिएसपी तिवारीले बताउनु भएको हो ।
‘विद्यार्थीहरूको जुलुस हो, शान्तिपूर्ण गर्ने भनेका छन् भनेर हामी ढुक्क थियौँ, त्यहीँअनुसार जनशक्ति परिचालन भएको थियो’ तिवारीको भनाइलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘जब एभरेष्ट होटल अगाडिको ब्यारिगेट्स तोडियो र भिड संसद भवनतिर जान थाल्यो, त्यसपछि मात्रै बल प्रयोग गर्न शुरू गरिएको थियो।’


तिवारीका प्रहरीले शुरूमा सिलसिलेवार सिद्धान्त अनुसार माइकिङ गरेरै चेतावनी दिएको, त्यसपछि अश्रु ग्यास प्रहार गरेको र तेस्रो चरणमा मात्रै घुँडामुनि रबरको गोली प्रहार गरेर नियन्त्रणको प्रयास गरिएको बत्तौनु भएको हो। प्रदर्शनकारी प्रहरीमाथि नै जाइलाग्ने, संसद भवन प्रवेश गर्ने पर्खाल र गेटहरू तोड्ने काम शुरू भएपछि संसद भवनभित्र रहेको प्रहरी टोलीले गोली हान्दा मानिसहरू हताहत भएको तिवारीको स्पस्टोक्ति रहेको छ ।
गोली प्रहार गर्ने प्रहरी नै हुन्, तर ती प्रहरी काठमाडौं जिल्ला परिसरका नभई अन्य टोली भएको संकेत तिवारीले गर्नु भएको बुझिएको छ । जिल्ला प्रहरीको कार्यक्षेत्रमा संसद भवन नपर्ने, जहाँसम्म कार्यक्षेत्र हो, त्यहाँसम्म आफ्नो टोलीले बल प्रयोग नगरेको भनेका छन् । यद्यपि, जेजति घटनाक्रम भएका छन्, ती सबै माथिल्लो युनिट कमाण्डरको आदेशमा नै भएको तिवारीले बयानमा बताउनु भएको छ।
कतिपय आदेश प्रहरीको सञ्चार सेटबाटै भएका र कतिपय आदेश मोबाइल फोनमार्फत भएको बताउदै आवश्यक परे सञ्चार सेटबाट भएका आदेश सुन्नका लागि उपत्यका प्रहरीको कन्ट्रोल रुमका सम्पूर्ण डाटा सुरक्षित रहेको र त्यसबाट अनुसन्धान गर्दा पनि आफूले भनेका कुराको सत्यता पुष्टि हुने प्रहरी नायब उपरीक्षक तिवारीले दाबि गर्नु भएको छ। यधपी प्रहरी नायब उपरीक्षक तिवारीलाइ असल प्रहरी कमान्डरका रुपमा लिने गरिन्छ।





