बर्दिया; बर्दियाको ठाकुरबाबा नगरपालिका–३ मा भएको विवादका क्रममा गोली चलेको घटनामा एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँका अनुसार, मिति २०८२ कार्तिक २३ गते राति करिब ११:१५ बजे कालगतीले मृत्यु भएका व्यक्तिको घरमा कुरुवा बस्ने क्रममा विवाद भएपछि गोली चलेको हो ।


भुरिगाउँ निवासी ३८ वर्षीय रमेश प्रसाद तिमिल्सिनामाथि गिदरपुर बस्ने २५ वर्षीय तर्क भण्डारी, आकाश शाह, छत्र कार्की, सुरेश कुर्मी (नेपालगञ्ज), प्रकाश साउद, अजय चन्द, र नाम नखुलेको छत्र कार्कीका भिनाजु सहित करिब १०–१५ जनाको समूहले बाटो रोकी खुकुरी र रड प्रहार गर्दै चार राउन्ड गोली चलाएको प्रहरीले जनाएको छ।
गोली हान्ने क्रममा तिमिल्सिनाले पिस्तोल छेक्ने प्रयास गर्दा दायाँ हातको पञ्जामा गोली लागेको बताइएको छ। कुटपिटका क्रममा उनको टाउको, दुबै घुँडा, दायाँ पञ्जा र बायाँ हातमा समेत चोट लागेको छ।
घाइते तिमिल्सिनालाई प्रारम्भिक उपचारका लागि भुरिगाउँ नगर अस्पतालमा लगिएको थियो। तर अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज, बाँके रिफर गरिएको हो। अस्पताल स्रोतका अनुसार, उनलाई आईसीयूमा राखी उपचार भइरहेको छ र अवस्था अझै गम्भीर छ।
यसैबीच, घटनामा संलग्न व्यक्तिहरूमध्ये ठाकुरबाबा नगरपालिका–४ का २० वर्षीय प्रकाश साउदलाई प्रहरी नियन्त्रणमा लिएको छ। उनलाई कार्तिक २४ गते बिहान ३:१० बजे निजकै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बर्दिया ल्याइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घाइते रमेश तिमिल्सिना सामाजिक सञ्जालमार्फत स्थानीय तहमा हुने अनियमितता र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका व्यक्ति भएको जनाइएको छ। यस कारण यो घटनाको पछाडि राजनीतिक संरक्षण र बदला लिने प्रयास रहेको आशंका स्थानीयले व्यक्त गरेका छन्।
स्थानीयवासीहरूका अनुसार, उक्त समूहका केही सदस्यहरू विगतमा पनि विभिन्न अपराध घटनामा संलग्न रहँदै आएका छन् र उनीहरूलाई कुनै न कुनै राजनीतिक दलका नेताहरूले संरक्षण दिँदै आएको आरोप छ।
सामान्य विवादको क्रममा गोली चल्नु सामान्य कुरा नभएको जनाउँदै स्थानीयवासीहरूले शान्ति–सुरक्षा कायम गर्न दोषीलाई कडा भन्दा कडा कानूनी कारबाही गर्न माग गरेका छन्।





