बाँके, कोहलपुर – २०८२ मंसिर १, सोमबार। कोहलपुर–११, बाँकेमा निर्माण गरिएको कोहलपुर शवदाहगृह सोमबार एक विशेष समारोहका बीच कोहलपुर नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
कार्यक्रमको आयोजना कोहलपुर शवदाहगृह निर्माण उपभोक्ता समितिले गरेको थियो।
समारोहका प्रमुख अतिथिका रूपमा कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्य उपस्थित रहे। उद्घाटन गर्दै मेयर आचार्यले नगरपालिका भित्र आधुनिक, सुरक्षित र वातावरणमैत्री शवदाह सेवाको आवश्यकतालाई उल्लेख गर्दै यस कार्यले स्थानीय बासिन्दालाई ठूलो सुविधा हुने बताए।


कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित बाँके जिल्ला प्रशासन कार्यालय प्रमुख दिल कुमार तामाङ ,ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी चक्र डमरपाल, माओवादी केन्द्र कोहलपुर नगर अध्यक्ष बल बहादुर खड्का ‘अविरल’, एपीएफ बाँकेका SP शोभाकान्त भुसाल, तथा नेपाली प्रहरी बाँकेका SP अङ्गुर जिसी लगायत अन्य सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी तथा स्थानीय सामाजिक व्यक्तित्वहरूको सहभागिता थियो।
उपभोक्ता समितिले लामो प्रयासपछि सम्पन्न गरेको शवदाहगृह अबदेखि कोहलपुर नगरपालिकाद्वारा नियमित सञ्चालनमा ल्याइने जनाएको छ। स्थानीयवासीहरूले आधुनिक संरचना र व्यवस्थापनसहितको शवदाहगृह सञ्चालनमा आउनु ठूलो उपलब्धि भएको प्रतिक्रिया दिएका छन्।





