काठमाण्डौ – प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले महिला तथा बालबालिकामाथि भएका हिंसाविरुद्ध समाजका सबै तह एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ।


प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयले प्रधान कार्यालय नक्सालमा आयोजना गरेको १६ दिने अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले हिंसाका घटनाहरु बढ्दै गए पनि उजुरी दिने क्रम पनि बढेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “पढेलेखेकै मान्छेमाथि र पढेलेखेकै मान्छेबाट हिंसाका घटना भइरहेका छन्। त्यसैले शिक्षा प्रणालीमा सभ्यताको विषयसम्बन्धी पाठ्यसामग्री समावेश गर्नु जरुरी छ। यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ।”
लैङ्गिक हिंसाका बहुआयमिक स्वरूप र यसको बहुपक्षीय असर रहेको भन्दै आइजीपी कार्कीले यसको रोकथामका लागि बहुआयमिक सहकार्य र समन्वय आवश्यक रहेको पनि जोड दिनुभयो।
महानिरीक्षक कार्कीले अनुसन्धान र कारबाही जारी रहे पनि अपराधका घटनाको गति रोकिन नसकेकोमा चिन्ता व्यक्त गर्दै सबैले यसतर्फ मिलेर प्रयास गर्नुपर्नेमा जोड दिनुभयो। साथै, लैङ्गिक हिंसा नियन्त्रणका लागि रणनीतिक योजना तर्जुमा, सफल अनुसन्धान र पीडितलाई सहयोग गर्ने समाज तथा सरोकारवाला निकायप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
सो अवसरमा आइजीपी कार्कीले आर्थिक वर्ष २०८१/०८२ को लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र सार्वजनिक गर्दै, यस क्षेत्रमा उल्लेखनीय योगदान गरेका प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र तथा नगद पुरस्कार पनि प्रदान गर्नुभयो।





