कोहलपुर — प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, कोहलपुर एकाइअन्तर्गत ज्ञानज्योति माध्यमिक विद्यालय एकाइको आयोजनामा “लागूऔषध तथा दुर्व्यसन नियन्त्रणमा विद्यार्थीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता तथा चेतनामूलक नाटक सफलतापूर्वक सम्पन्न भएको छ।


ज्ञानज्योति माध्यमिक विद्यालयको मुख्य प्रायोजनमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता प्राज्ञिक विद्यार्थी परिषद् ज्ञानज्योति एकाइकी अध्यक्ष भावना लामिछाने ले गर्नुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री दशरथ पराजुली प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने सहायक प्रधानाध्यापक श्री बद्री पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, कर्णाली प्रदेशका अध्यक्ष भीम रोकाय को विशेष उपस्थिति रहेको थियो। वक्तृत्वकला प्रतियोगिताको निर्णायकमण्डलमा धनप्रसाद पौडेल, राम सेवाक मौर्य तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, कोहलपुर एकाइका अध्यक्ष श्री बिरङ्गना योगी रहनुभएको थियो।
वक्तृत्वकला प्रतियोगितामा हेमन्त शर्मा प्रथम, सदिक्षा केसी द्वितीय, टिकाराम तृतीय तथा अन्जली थारु सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए।
कार्यक्रममा विद्यार्थीहरूले लागूऔषध तथा दुर्व्यसनले समाज र युवामा पार्ने नकारात्मक असर तथा त्यसको न्यूनीकरणमा विद्यार्थीको भूमिकाबारे प्रभावकारी विचार प्रस्तुत गरेका थिए। साथै, लागूऔषध तथा दुर्व्यसनसम्बन्धी सन्देशमूलक नाटक प्रस्तुत गरी उपस्थित दर्शकहरूलाई सचेत गराइएको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष भावना लामिछाने ले सहभागी, प्रतिस्पर्धी तथा उत्कृष्ट स्थान हासिल गर्ने सबै विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन पुष्पा परियारले गर्नुभएको थियो।
यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक जिम्मेवारी, चेतना र नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।






