काठमाडौँ । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई कालोमोसो दलेको छ । विश्वविद्यालयलाई कमजोर बनाएको, भ्रष्टाचार र अनियमिततामा संलग्न भएको आरोप लगाउँदै संगठनले भौतिक कारबाही गरेको जनाएको छ ।
घटनापछि अखिल क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै उपकुलपति नेपालले लामो समयदेखि वाल्मीकि क्याम्पस र परीक्षा नियन्त्रण कार्यालयको नेतृत्व सम्हालेर राज्य र विश्वविद्यालयको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाएको छ । सत्तासीन दलका नेताहरूको पहुँच प्रयोग गर्दै निवासमा धाउँदै आर्थिक लेनदेनमार्फत उपकुलपतिमा नियुक्त भएको संगठनको दाबी छ ।
विज्ञप्तिमा भनिएको छ, “आफ्नो पदको दुरुपयोग गरी विश्वविद्यालयलाई कमजोर पार्ने, भ्रष्टाचार र अनियमितताको धन्दा चलाउने उपकुलपति धनेश्वर नेपाललाई कारबाही गर्न हामी बाध्य भएका हौँ।”
अखिल क्रान्तिकारीका अनुसार उपकुलपति नेपालले भ्रष्टाचारबाट आर्जित रकम प्रयोग गरी काठमाडौँको गोलढुंगा, ललितपुरको खोकना र गृहजिल्ला दाङमा जग्गा खरिद गरेको तथा पछिल्लो समय डोल्मा कम्पनीसँग आबद्ध रहेको आरोपसमेत लगाइएको छ ।
त्यसैगरी, भ्रष्टाचारको आरोप लागेका माधव अधिकारीलाई पुनः रजिष्ट्रारमा सिफारिस गरेको, घुस खुवाएर उपकुलपतिमा नियुक्ति लिएको, परीक्षा नियन्त्रक रहँदा आफूनिकट विद्यार्थीलाई पास गराएको, कार्यालयभन्दा राजनीतिक नेताका निवासमा बढी धाउने गरेको लगायतका आरोप पनि विज्ञप्तिमा उल्लेख छन् ।
संगठनले विश्वविद्यालयको जग्गा आफूनिकट व्यक्ति वा कम्पनीलाई दिन ठूलो आर्थिक चलखेल भएको, विश्वविद्यालयको अवस्था नाजुक हुँदासमेत ठेकेदारहरूसँग कमिसन खाने रजिष्ट्रारलाई संरक्षण गर्दै कार्यकारी परिषद्बाट विधिविपरीत भुक्तानीको निर्णय गराइएको दाबी गरेको छ । साथै, विश्वविद्यालयको जग्गासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्न जानाजानी ढिलाइ गरिएको आरोप पनि लगाइएको छ ।
अखिल क्रान्तिकारीले भ्रष्टाचार, लुटखसोट र अनियमिततामा संलग्न जोकोहीमाथि कारबाही जारी रहने चेतावनी दिँदै त्यसविरुद्धको संघर्षमा युवा, विद्यार्थी तथा आम नागरिकलाई सहभागी हुन आह्वान गरेको छ ।







