धनगढी, १० पुस — कैलालीमा सवारी ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थायी घर भई हाल कञ्चनपुरको वेदकोट नगरपालिका–५ मा बसोबास गर्दै आएका ४५ वर्षीय प्रेम भन्ने सुरज थापा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर प्रहरीसँगको समन्वयमा थापालाई पक्राउ गरेको हो।
थापा सवारी ज्यान सम्बन्धी मुद्दामा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ। उनीविरुद्ध ९ भदौ २०६५ मा ५३ नम्बरमा मुद्दा दर्ता भएको थियो।
प्रहरीका अनुसार ७ भदौ २०६५ मा भएको सवारी दुर्घटनापछि थापा घटनास्थलबाटै फरार भएका थिए। लामो समयदेखि फरार रहेका उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।







