१० पौष २०८२ रुपन्देही ; — नेपाल स्वास्थ्य कर्मिसंघको हालै पौष ०९ देखि १० गते लुम्बिनीको रुपन्देहीमा सम्पन्न केन्द्रीय महाधिवेशनबाट बाँकेका गजेन्द्र शाही केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। स्वास्थ्य क्षेत्रका श्रमिकहरूको हक–हित, पेशागत सुरक्षा र सेवा सुधारका विषयमा सक्रिय रहँदै आएका शाहीको केन्द्रीय सदस्यमा निर्वाचित हुनुलाई बाँके जिल्लाका स्वास्थ्यकर्मीहरूले उत्साहका साथ स्वागत गरेका छन्।
बुधबार उद्घाटन महाधिवेशनमा देशभरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। निर्वाचन प्रक्रियाबाट नयाँ केन्द्रीय कार्यसमिति चयन भएसँगै संगठनले आगामी कार्यकालका लागि नीति, कार्यक्रम र प्राथमिकताहरू तय गरेको छ। निर्वाचित शाहीले स्वास्थ्यकर्मीहरूको अधिकार सुनिश्चित गर्न, कार्यस्थल सुरक्षा मजबुत बनाउन र सेवा प्रवाहलाई जनमैत्री बनाउन आफू प्रतिबद्ध रहने बताएका छन ।
“स्वास्थ्यकर्मीहरूको समस्या समाधान र पेशागत सम्मानका लागि संगठनको भूमिका अझ प्रभावकारी बनाउनेछौं,” शाहीले भने, “केन्द्रीय तहमा बाँकेका स्वास्थ्यकर्मीहरूको आवाज मजबुत रूपमा उठाउने मेरो प्रयास रहनेछ।”
बाँकेका स्वास्थ्यकर्मी तथा सामाजिक अगुवाहरूले शाहीको निर्वाचनले जिल्लाको प्रतिनिधित्व सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। नवनिर्वाचित नेतृत्वले स्वास्थ्य प्रणाली सुदृढीकरण, श्रमिक अधिकार र संगठन विस्तारलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।







