नेपालगञ्ज । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले एक जनालाई पक्राउ गरेको छ।
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई, बालुवाटारबाट प्राप्त सूचनाका आधारमा प्रहरीले बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ का ४० वर्षीय ईरफान अहमद शेखलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
प्राप्त जानकारी अनुसार शेखको बैंक तथा विभिन्न वित्तीय संस्थाहरूमा करिब रु ४ करोड ९२ लाख ८४ हजार २९६ रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको पाइएको छ। खातामा नगद रकम जम्मा हुने वित्तिकै विद्युतीय माध्यमबाट विभिन्न व्यक्ति तथा संस्थाहरूमा रकम स्थानान्तरण हुने गरेको, साथै उक्त कारोबारमा उनी स्वयं ‘कन्डक्टर’को भूमिकामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
त्यसैगरी, प्रतिवादीको KYC विवरणमा उल्लेख गरिएको अनुमानित वार्षिक आम्दानी र वास्तविक कारोबारबीच ठुलो असमानता देखिएपछि हुन्डीसम्बन्धी कसुरमा अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकले मिति २०८२/०९/०७ गते जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्राचार गरेको थियो।
उक्त सूचनाको आधारमा प्रहरीले शेखविरुद्ध हुन्डी सम्बन्धी मुद्दा दर्ता गरी सम्मानित बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भइसकेपछि फरार रहेका शेखलाई प्रहरीले मिति २०८२/०९/११ गते पक्राउ गर्न सफल भएको हो।
हाल प्रतिवादीलाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।







