कोहलपुर, बाँके | कोहलपुर नगरपालिकाले आयोजना गर्न लागेको मेला–महोत्सवअन्तर्गत समावेश गरिएको ‘जलपरी’ कार्यक्रमलाई लिएर व्यापक विवाद उत्पन्न भएको छ। सामाजिक अभियानकर्मी भुम बहादुर भण्डारीले नगर प्रमुखलाई खुला पत्र लेख्दै उक्त कार्यक्रमको वैधानिकता, औचित्य र सामाजिक प्रभावबारे गम्भीर प्रश्न उठाएका छन्।
खुला पत्रमा भण्डारीले ‘जलपरी’ कार्यक्रमलाई न त कला, न संस्कृति, न खेलकुद, न विज्ञान र न त कुनै सीप वा शैक्षिक विधासँग जोड्न सकिने गतिविधि भएको दाबी गरेका छन्। उनले नेपाली शैक्षिक पाठ्यक्रम, राष्ट्रिय सांस्कृतिक नीति, खेलकुद नीति वा कला–संस्कृति संरक्षणसम्बन्धी कुनै पनि कानुनी दस्तावेजमा ‘जलपरी नृत्य वा प्रदर्शन’ नामक विधा समावेश नभएको उल्लेख गरेका छन्।
“स्थानीय कला, संस्कृति संरक्षणको ब्यानर टाँसेर कहिले मेलामा उँट, कहिले विदेशी (रसियन), कहिले जलपरी, कहिले जिगोलो जस्ता कार्यक्रम प्रस्तुत गरिनु कुन प्रकारको संस्कृति प्रवर्द्धन हो?”
— खुला पत्रको अंश
उनले पैसाको लोभमा समाजमा उच्छृङ्खलता फैलाउने, विकृति बेच्ने र जनताको पैसाबाट लुटधन्दा चलाउने कार्यक्रमलाई ‘विकास’को नाम दिनु स्थानीय शासनको उद्देश्यसँग मेल नखाने स्पष्ट आरोप लगाएका छन्।
महँगो टिकटदरमाथि प्रश्न
खुला पत्रमा अझ गम्भीर प्रश्नका रूपमा ‘जलपरी’ कार्यक्रमका लागि मूल मेला कार्यक्रमभन्दा दोब्बर महँगो टिकट दर तोकिएको विषय उठाइएको छ। यस्तो टिकटदर कुन कानुनी आधारमा तय गरिएको हो भन्ने प्रश्न गर्दै भण्डारीले नगर प्रमुख स्वयं संयोजक रहेको मेला महोत्सव कार्यविधि, प्रदेशस्तरीय कानुन वा कुनै निर्देशिकाले यस्तो अधिकार दिएको हो कि होइन भन्ने स्पष्टिकरण माग गरेका छन्।
उनले हालै तुलसीपुर महोत्सवमा सञ्चालन गरिएको जलपरी कार्यक्रम जनदबाबपछि स्थगन गरिएको उदाहरण पनि स्मरण गराएका छन्।
“जुवा, क्यासिनो र यौनधन्दा पनि खोल्ने?”
खुला पत्रमा व्यंग्यात्मक तर कडा चेतावनी दिँदै भण्डारी लेख्छन्—
“यदि सामाजिक र सांस्कृतिक ब्यानरको आडमा लुटको कारोबार चलाउनै हो भने, मेला परिसरका स्टलमा जुवा, क्यासिनो, स्पा र यौनधन्दा पनि औपचारिक रूपमा खोलिदिए हुन्छ।”
उनले यस्ता विवादास्पद र अमर्यादित कार्यक्रमबाट कोहलपुर नगरपालिका र समग्र समाजले के दीर्घकालीन लाभ पाउँछ भन्ने विषयमा तत्काल, स्पष्ट र आधिकारिक जानकारी सार्वजनिक गर्न नगर प्रमुखसँग माग गरेका छन्।
खुला पत्रको अन्त्यमा उनले जोडदार शब्दमा लेखेका छन्—
“उत्तर चाहिएको छ, नगर प्रमुखज्यू। जनता जान्न चाहन्छन्।”
उक्त खुला पत्र सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा समेत व्यापक बहस सुरु भएको छ। अब नगरपालिकाको आधिकारिक प्रतिक्रिया के आउने हो भन्ने विषय कोहलपुरवासीको चासोको केन्द्र बनेको छ।







