काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई थान अत्याधुनिक पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले नागार्जुन नगरपालिका–४, बाफल क्षेत्रबाट लुकाइछिपाई राखिएको अवस्थामा हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५, डल्लु बस्ने ३२ वर्षीय ‘झिल्के’ भनिने विकास शाही, मोरङको लेटाङ–४ घर भई हाल काठमाडौंमा बस्ने २२ वर्षीय शाहिल तिवारी र बाफल बस्ने ३३ वर्षीय ‘जस्वन’ भनिने अश्विन राई रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट CF 98-900003308237 र CF 98-900011108236 नम्बरका दुई थान पेस्तोल, तीनवटा म्यागजिन, दुई राउन्ड गोली तथा दुईवटा गोलीका खोका बरामद गरिएको छ।
घटनाका सम्बन्धमा पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।







