१६ पौष २०८२ नेपालगञ्ज ; — लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौँका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाको निर्देशन तथा नेतृत्वमा रहेको टोली र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जका शाखा प्रमुख एएसआई नवीनकुमार शाहीको नेतृत्वमा खटिएको संयुक्त टोलीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ।
प्राप्त सूचनाका आधारमा मिति २०८२/०९/१५ गते इलियास अहमदले लागू औषध ब्राउनसुगरको खरीद–बिक्री गरिरहेको भन्ने जानकारी पाएपछि टोलीले जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ०४, गणेशपुर नजिक निगरानी तथा खोजतलास गरेको थियो।
कानुन बमोजिम चेकजाँच गर्न खोज्दा उक्त व्यक्ति भाग्न उम्कन खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउन्ड हवाई फायर गरेको बताइएको छ। त्यसपछि इलियास अहमदलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लगाएको कालो ज्याकेटको अगाडिको दाहिने खल्तीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागू औषध खैरो हेरोइन शुद्ध तौल २८० ग्राम १६० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी घटनास्थलबाट डिजिटल तराजु १ थान, हात लगाउने नक १ थान र मोबाइल १ थान समेत बरामद गरिएको छ। पक्राउ परेका व्यक्ति तथा बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।







