जनकपुरधाम । देशभर चिसोको प्रभाव बढ्दै गएसँगै तराई–मधेस क्षेत्रका विपन्न समुदायहरू प्रत्यक्ष रूपमा प्रभावित हुन थालेका छन् । विशेषगरी गरिब, दलित, अपाङ्ग तथा जेष्ठ नागरिकहरू चिसोका कारण स्वास्थ्य जोखिममा परिरहेका बेला सशस्त्र प्रहरी बल नेपालले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको छ । चिसोबाट प्रभावित विदेह नगरपालिका वडा नं. १ र २ का विपन्न नागरिकहरूलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरले राहत स्वरूप मण्डी (कम्बल) वितरण गरेको छ ।


सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रम गुल्म परिसरमै आयोजित गरिएको थियो । कार्यक्रममा विदेह नगरपालिका वडा नं. १ र २ मा बसोबास गर्ने विपन्न दलित, अपाङ्ग तथा जेष्ठ नागरिकहरूलाई न्यानो प्रदान गर्ने उद्देश्यले मण्डी वितरण गरिएको हो । अत्यधिक चिसो र शीतलहरका कारण दैनिक जीवन कष्टकर बन्दै गएको अवस्थामा यो कार्यक्रम प्रभावकारी र समयसापेक्ष रहेको स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा महिनाथपुरका गुल्मपति डिएसपी सुरेश कोइरालाले जानकारी दिँदै प्रत्येक वर्ष चिसो मौसममा स्थानीयस्तरमा राहत वितरण गर्ने कार्यक्रम सञ्चालन हुँदै आएको बताए । यस वर्ष विदेह नगरपालिका वडा नं. १ र २ का गरी जम्मा १४४ जना विपन्न दलित, अपाङ्ग तथा जेष्ठ नागरिकहरूलाई मण्डी वितरण गरिएको उनले बताए । उनले भने, “नागरिक र सुरक्षाकर्मीबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले यस्ता मानवीय कार्यक्रमहरू निरन्तर सञ्चालन गरिँदै आएको छ ।”
उक्त कार्यक्रममा विदेह नगरपालिका वडा नं. १ का वडा अध्यक्ष संजय पाण्डे, वडा नं. २ का वडा अध्यक्ष रामपुकार सहनी, प्रहरी चौकी ठाढीका असई सुरेश सिंह, वडा सदस्यहरू, समाजसेवी तथा स्थानीय सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरूले सशस्त्र प्रहरी बलले गरेको यो सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गरेका थिए ।
वडा अध्यक्षहरूले चिसो मौसममा गरिब तथा असहाय वर्ग सबैभन्दा बढी प्रभावित हुने भएकाले सरकारी तथा सुरक्षा निकायहरूबाट हुने यस्ता सहयोगले उनीहरूको जीवनमा प्रत्यक्ष राहत पुग्ने बताए । स्थानीय नागरिकहरूले पनि सशस्त्र प्रहरी बलप्रति आभार व्यक्त गर्दै यस किसिमको सहयोगले राज्यप्रति विश्वास बढ्ने प्रतिक्रिया दिएका थिए ।
गुल्मपति डिएसपी कोइरालाका अनुसार तराई–मधेस क्षेत्रमा हरेक वर्ष अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित हुने गरेको छ । त्यसलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले न्यानो कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा मण्डी, कम्बल तथा अन्य राहत सामग्री वितरण गर्दै आएको छ । यस्तो कार्यक्रमले विपन्न वर्गलाई मात्र होइन, सुरक्षाकर्मी र नागरिकबीचको सम्बन्ध सुदृढ गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।





