वीरगन्ज । बारामा नेपाल प्रहरीका एक अधिकृतको साथबाट सरकारी पेस्तोल रहस्यमय ढंगले हराएको घटनाले मधेस प्रदेश प्रहरी संगठनभित्र तरङ्ग पैदा गरेको छ।
इलाका प्रहरी कार्यालय कबहीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) सोनुकुमार मिश्रले बोकेको ९ एमएमको सरकारी पेस्तोल हराएपछि घटनाको छानबिनका लागि उक्त कार्यालयमा कार्यरत सईदेखि कार्यालय सहयोगीसम्मका १२ जना प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएको हो।

घटना सार्वजनिक भएपछि मधेस प्रदेश प्रहरी कार्यालयले तत्काल कदम चाल्दै इप्रका कबहीमा कार्यरत सबै प्रहरीलाई जनकपुर झिकाएर अलग–अलग राखी सोधपुछ सुरु गरेको जनाएको छ। यसैबीच, कबही क्षेत्रमा सुरक्षा व्यवस्थामा असर नपरोस् भन्ने उद्देश्यले प्रहरीको अर्को टोली खटाइएको छ।
पुस ११ मा पेस्तोल हराएको पुष्टि
प्रहरीका अनुसार सरकारी पेस्तोल गत पुस ११ गते हराएको हो। घटनाबारे जानकारी प्राप्त भएपछि मधेस प्रदेश प्रहरी प्रमुखको निर्देशनमा एसपी भेष रिजालको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो।


बयानमा विरोधाभास, घटना झन् शंकास्पद
पुस १५ गते गठन भएको छानबिन समितिले घटनास्थलको प्रारम्भिक अध्ययन सकेर फर्किएलगत्तै थप अनुसन्धानका लागि कबहीमा कार्यरत सबै प्रहरीलाई शुक्रबार जनकपुर बोलाइएको हो।
छानबिन क्रममा सई मिश्रले प्रारम्भिक बयानमा राति गस्ती गर्ने क्रममा पेस्तोल हराएको बताएका थिए। तर, पछिल्लो बयानमा भने ब्यारेकबाटै हतियार हराएको उल्लेख गरेपछि घटनाले थप रहस्यपूर्ण मोड लिएको छ।
एउटै घटनाबारे फरक–फरक विवरण आउनुले विषयलाई अत्यन्तै शंकास्पद बनाएको छानबिन समितिको निष्कर्ष छ। मधेस प्रहरीले घटनासँग सम्बन्धित सबै प्रहरी कर्मचारीलाई छुट्टाछुट्टै राखेर बयान लिने र अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।





