एजेन्सी । भेनेजुएलामा हवाई आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः अन्तर्राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा आएका छन्।
यसैबीच, राष्ट्रपति ट्रम्पको ध्यान भारततर्फ सोझिएको छ। कर नीति र रूसी तेल आयातको विषयलाई लिएर अमेरिका–भारत सम्बन्धमा पुनः तनाव उत्पन्न भएको संकेत देखिएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भारतले रूसी तेल आयातबारे अमेरिकाको चिन्तालाई सम्बोधन नगरे भारतीय वस्तुहरूमा थप कर लगाइने चेतावनी दिएका छन्। यस चेतावनीसँगै दुई देशबीचको व्यापारिक तथा कूटनीतिक सम्बन्ध फेरि चिसिने संकेत देखिएको हो।
रूसी तेल आयातको सन्दर्भमा ट्रम्पले भने,
“उनीहरू वास्तवमा मलाई खुशी पार्न चाहन्थे। प्रधानमन्त्री मोदी धेरै राम्रो मान्छे हुन्, एक असल व्यक्ति। उहाँलाई थाहा थियो कि म दुखी छु। मलाई खुशी पार्नु महत्त्वपूर्ण थियो। हामी तिनीहरूमा धेरै चाँडै कर बढाउन सक्छौं।”
युक्रेन युद्ध सुरु भएपछि भारतले रुसबाट तेल आयात उल्लेखनीय रूपमा बढाएको छ। यही नीतिलाई लिएर वासिङ्टनले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएको छ। अमेरिकाको धारणा अनुसार, रूसी तेल खरिदले मस्कोलाई आर्थिक रूपमा बल पुगिरहेको छ, जुन युक्रेन युद्धको सन्दर्भमा अमेरिकाका लागि स्वीकार्य छैन।
यस विषयले आगामी दिनमा अमेरिका–भारत सम्बन्ध कस्तो मोड लिन्छ भन्नेमा अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दै गएको छ।







