कोहलपुर, २२ पौष २०८२ ।कोहलपुर महोत्सव २०८२ मा मंगलबार चर्चित राष्ट्रिय कलाकारका रूपमा प्रचार गरिएका दुर्गेश थापाको प्रस्तुति अपेक्षाअनुसार नहुँदा महोत्सव स्थल केही समय तनावग्रस्त बनेको छ। समयमै स्टेजमा नआउँदा र सीमित समय मात्र गीत गाएपछि दर्शकहरू आक्रोशित बनेका हुन्।
महोत्सवमा उपस्थित हजारौँ दर्शक कलाकारको प्रस्तुति हेर्न उत्साहका साथ टिकट काटेर आएका थिए। तर निर्धारित समय बितिसक्दा पनि कलाकार स्टेजमा नआएपछि दर्शकको धैर्य चुँडियो। स्टेज ढिलाइ र छोटो प्रस्तुतीका कारण सुरुमा उत्साहले भरिएको माहोल चाँडै असन्तुष्टिको आवाजमा परिणत भयो।
दर्शकबीच दुर्गेश थापाले आफूलाई ‘ब्राण्ड’ कलाकारका रूपमा प्रस्तुत गर्ने गरेको विषय पनि चर्चामा आयो। तर त्यो चर्चा प्रशंसाभन्दा बढी व्यंग्यमा सीमित रह्यो। “ब्राण्ड त हो, तर समय र दर्शकको होइन रहेछ,” भन्दै कतिपय दर्शकले कटाक्ष गरेका थिए।
यस विषयमा आयोजक संस्था कोहलपुर उद्योग वाणिज्य संघले भने आफ्नो कमजोरी अस्वीकार गरेको छ। संघका प्रतिनिधिले स्पष्ट शब्दमा भने, “हामीले दिएको समयमा कलाकार उपस्थित हुनुभएन। यो आयोजकको कमजोरी होइन।” आयोजकको यो अभिव्यक्तिले आक्रोशित दर्शकलाई थप उत्तेजित बनाएको देखिन्थ्यो।
स्थानीय दर्शकहरूका अनुसार महोत्सव जनताको मनोरञ्जनका लागि आयोजना गरिन्छ, कलाकारको ‘स्टारडम’ प्रदर्शनका लागि होइन। “हामी कलाकारको नाम र गीत सुन्न आएका हौं, बहाना सुन्न होइन,” एक दर्शकले आक्रोश व्यक्त गरे।
घटनाले सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाएको छ। ‘ब्राण्ड’ शब्दलाई लिएर व्यंग्यात्मक पोस्ट, टिप्पणी र प्रतिक्रियाहरू छ्यापछ्याप्ती देखिएका छन्। कतिपयले कलाकारको पेशागत अनुशासनमाथि प्रश्न उठाएका छन् भने कतिपयले आयोजकको व्यवस्थापन क्षमतामाथि पनि आलोचना गरेका छन्।
यसरी कोहलपुर महोत्सव २०८२ को मंगलबार मनोरञ्जनको अपेक्षामा आएका दर्शकहरू गीत–संगीतमा रमाउनुको सट्टा असन्तुष्टि र बहसको साक्षी बने। दर्शक अपेक्षामा निराश भए, आयोजक सफाइमा व्यस्त देखिए र कलाकारको ‘ब्राण्ड’ छविमा प्रश्नचिन्ह थपियो।
अब मुख्य प्रश्न यही छ—
महोत्सवमा चम्किनु पर्ने कुरा कलाकारको नाम हो कि दर्शकको मनोरञ्जन?







