२४ पौष २०८२ कोहलपुर ;- कोहलपुर महोत्सव २०८२ भव्य समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ। महोत्सवलाई उत्सवका रूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला निकायप्रति कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले हार्दिक आभार व्यक्त गर्नुभएको छ।
समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले महोत्सव सफलतापूर्वक सम्पन्न हुनु सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्नुभयो। उहाँले स्थानीय व्यवसायी, पत्रकार, सुरक्षाकर्मी, कलाकार, स्वयंसेवक, स्थानीय निकाय, प्रायोजक संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्नुभएको हो।
महोत्सवले कोहलपुरको आर्थिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ थियो। “कोहलपुर महोत्सव केवल व्यापारिक गतिविधिमा सीमित नभई स्थानीय कला, संस्कृति, उत्पादन र पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउने साझा मञ्च बनेको छ,” अध्यक्ष भट्टराईले बताउनु भएको हो।
महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारका प्रस्तुति, औद्योगिक तथा व्यापारिक स्टल, कृषि प्रदर्शनी, मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिएको थियो। दर्शक तथा सहभागीहरूको उल्लेख्य उपस्थितिले महोत्सवलाई थप उत्साहपूर्ण बनाएको आयोजक समितिको बुझाइ रहेको थियो ।
अन्त्यमा अध्यक्ष भट्टराईले भन्नु भयो कोहलपुर उधोग वाणिज्य संघ कोहलपुरले आगामी दिनमा अझ व्यवस्थित, आकर्षक र प्रभावकारी महोत्सव आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै कोहलपुरको समग्र विकासका लागि सबैको निरन्तर साथ र सहयोगको अपेक्षा रहेको बताउनु भएको छ।







