सल्यान । सल्यान जिल्लाको कालिमाटी गाउँपालिका–७ घुइयाबारीस्थित पतेरी जंगलमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृतक स्थानीय धनसरी रावत (४२ बर्ष) हुन्।
दाउरा काट्न जंगल गएकी रावत लामो समयसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जंगलभित्र मृत अवस्थामा फेला परेकी थिइन्। स्थानीय हुम बहादुर रानाका अनुसार घटनास्थलमा उनको शव अत्यन्तै विभत्स अवस्थामा भेटिएको थियो र बाघको पाइला स्पष्ट देखिएको छ।
घटना बाँके राष्ट्रिय निकुञ्जको मध्यावर्ती क्षेत्रभित्र पर्ने जंगलमा भएको जनाइएको छ। पछिल्लो समय बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा बाघको गतिविधि बढ्दै जाँदा सल्यानसम्म आक्रमणका घटना फैलिन थालेको स्थानीयको गुनासो छ। बस्ती नजिक बाघ देखिने, घरपालुवा जनावर मारिने र मानिसमाथि आक्रमण हुने घटना बढेपछि स्थानीय त्रसित बनेका छन्।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न स्थानीयले माग गरेका छन्। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाइएको छ।







