धनगढी । धनगढीमा मोटरसाइकल चालकलाई झापड हानेको घटनामा संलग्न ट्राफिक प्रहरीमाथि छानबिन गर्न सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक कटक कुँवरको संयोजकत्वमा छानबिन टोली गठन गरिएको हो ।

छानबिन टोलीलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए । उनका अनुसार छानबिनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरी हवल्दार डेबिट श्रेष्ठले गुडिरहेको मोटरसाइकलसँगै दौडँदै चालकलाई रोकेर झापड हानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त घटना विवादमा आएको हो । घटनाबारे प्रहरी प्रधान कार्यालयले समेत छानबिन गर्न प्रदेश प्रहरीलाई लिखित निर्देशन दिएको थियो ।
यसै घटनासँग जोडिएर भिडियो खिचेको भन्दै एसटीएस टेलिभिजनमा कार्यरत पत्रकार उषाकिरण ज्योति र लक्ष्मण ढुंगालमाथि पनि हवल्दार श्रेष्ठले दुर्व्यवहार गरेको आरोप लागेको छ । उक्त घटनापछि नेपाल पत्रकार महासंघ कैलाली, सुदूरपश्चिम प्रदेश समिति तथा केन्द्रीय समितिसहित विभिन्न पेशागत संगठनहरूले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका थिए ।
अस्ति मात्र नेपाल पत्रकार महासंघ कैलालीको कार्यालयमा हवल्दार श्रेष्ठ र महासंघका प्रतिनिधिबीच छलफल भएको थियो । सो अवसरमा हवल्दार श्रेष्ठले पत्रकार ज्योति र ढुंगालसँग माफी माग्दै आफ्नो गल्ती स्वीकार गरेका थिए ।
छलफलका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयले घटनाबारे लिखित धारणा सार्वजनिक गर्ने सहमति भए पनि हालसम्म कुनै आधिकारिक वक्तव्य जारी गरिएको छैन । यसबीच जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाले घटनाबारे सार्वजनिक रूपमा कुनै धारणा नदिएको भन्दै उनी घटना ढाकछोप गर्न केन्द्रित भएको आरोपसमेत लागिरहेको छ ।
यता हवल्दार श्रेष्ठले भने चेकिङका क्रममा मोटरसाइकल चालक भाग्न खोजेपछि नियन्त्रणमा लिँदा झापड हानेको स्वीकार गरेका छन् । उनका अनुसार एउटै मोटरसाइकलमा तीनजना सवार थिए र ट्राफिक प्रहरी देखेपछि पछाडि बसेका एकजना ओर्लिएका थिए । उनीहरू तीनै जनाले मादक पदार्थ सेवन गरेको हवल्दार श्रेष्ठको दाबी छ ।







