काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी कठिन परिस्थितिबाट उठेर नागरिकको सुरक्षाका लागि निरन्तर समर्पित भएर काम गरिरहेको बताएका छन्।
शनिबार ट्राफिक सप्ताह तथा दुर्घटना न्यूनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै आइजीपी कार्कीले प्रहरी संगठनले अभाव र चुनौतीका बाबजुद पनि नागरिक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे।
उनले प्रहरी कर्मचारीहरूले दुःख र अभावका अवस्थामा समेत आफ्नो दायित्वबोध नछोडी नागरिकको सुरक्षामा खटिरहेको बताए। “प्रहरी कर्मचारीहरू अभावमा खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा पनि नागरिक सुरक्षालाई प्राथमिकतामा राख्दै काम गरिरहेका छन्,” उनले भने, “कुनै पनि व्यक्तिगत इच्छा, आकांक्षा र इन्द्रिय सुखभन्दा माथि उठेर नागरिक सुरक्षामा खटिनु हाम्रो दायित्व हो।”
आइजीपी कार्कीले सबै नागरिकलाई जिम्मेवार र सभ्य बन्न आग्रह गर्दै कानुनको पालना नै समुन्नत समाजको आधार भएको बताए। “कानुन कार्यान्वयनले कानुनी शासन स्थापना हुन्छ, कानुनी शासनबाट सुशासन, सुशासनबाट समृद्धि र समृद्धिबाट सभ्यता कायम हुन्छ,” उनले विश्वास व्यक्त गरे।
उनले प्रहरी कर्मचारीहरूलाई व्यक्तिगत चाहना, आकांक्षा र सुखभन्दा माथि उठेर नागरिकको सुरक्षामा समर्पित भई काम गर्न निर्देशनसमेत दिए।







