काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै देश नै नरहने हो कि भन्ने निराशा पैदा हुन थालेको बताएका छन्।
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सन्देश जारी गर्दै उनले नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देश निरन्तर संकटको चक्रमा फसेकोप्रति चिन्ता जनाएका हुन्।
सन्देशमा उनले भनेका छन्, “हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।”
पूर्वराजा शाहले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा राजसंस्थाले जनताले सुम्पेको जिम्मेवारीबाट कहिल्यै विमुख नभएको दाबी गरेका छन्। उनले सबै नेपालीलाई कर्तव्यबोधका साथ अघि बढ्न आह्वान गर्दै ‘पृथ्वी पथ’ मा लाग्नुपर्ने धारणा व्यक्त गरे।
“सबै नेपालीले यो कर्तव्यबोध गरी ‘पृथ्वी पथ’ मा लाग्नुपर्दछ भन्ने हाम्रो धारणा र आह्वान छ,” सन्देशमा भनिएको छ, “नेपाली विश्वमा जहाँ रहे पनि नेपाली मूलको भन्ने नै हुन्छ। त्यसैले राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा पनि सँगै जोडिएको हुन्छ।”
उनले देशबाट जनशक्ति निरन्तर पलायन हुँदै जानुले मुलुकको भविष्यप्रति निराशाको संकेत देखाइरहेको उल्लेख गर्दै अब पुँजी, पुँजीपति तथा कर्मवीर उद्यमीहरू समेत पलायन हुन थालेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।







