काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। आज उनको दिल्लीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको बताइएको छ।

भारतीय रियालिटी शो इन्डियन आइडल–३ का विजेता तामाङ ४ जनवरी १९८३ मा भारतको दार्जिलिङमा नेपाली मूलका परिवारमा जन्मिएका थिए। इन्डियन आइडल जितेसँगै उनी नेपालसहित विश्वभर रहेका नेपाली भाषिक समुदायबीच अत्यन्त लोकप्रिय बनेका थिए।
प्रशान्त तामाङले इन्डियन आइडल जित्दा नेपाली भाषिक समुदाय र गोरखा पहाडका मानिसहरूको पहिचान र गर्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।
उनको सफलताले धेरै नेपाली युवालाई प्रेरणा दिएको थियो।
गायनसँगै अभिनयमा पनि सक्रिय रहेका तामाङले गोर्खा पल्टन, अंगालो यो मायाको, किना माया मा, निशानी, परदेशी लगायतका नेपाली चलचित्रमा अभिनय गरेका थिए।
त्यस्तै, उनले गोर्खा पल्टन, परदेशी, निशानी, अंगालो यो मायाको, आगो पिएर बाँच्ने लगायतका कयौं नेपाली गीतमा पनि आवाज भरेका छन्।
उनको निधनले नेपाली संगीत तथा चलचित्र क्षेत्रले एक लोकप्रिय र प्रेरणादायी कलाकार गुमाएको छ। तामाङप्रति सामाजिक सञ्जालमा प्रशंसक तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।







