
काठमाडौं । बाँकेमा एक नाबालिकामाथि बलात्कार भएको घटनासम्बन्धी जाहेरी दरखास्त सनाखत गर्न पीडित पक्ष सम्पर्कमा नआएकाले अनुसन्धानमा असहज भएको भन्दै प्रहरीले सम्पर्कमा आउन अपिल गरेको छ।
बालिका बलात्कार भएको भन्दै हुलाकमार्फत् जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी प्राप्त भएको भए पनि कानुनी प्रावधानअनुसार जाहेरी सनाखत गर्नुपर्ने भएकाले पीडित पक्षको उपस्थित आवश्यक रहेको प्रहरीले जनाएको छ। तर हालसम्म पीडित पक्ष सम्पर्कमा नआएपछि प्रहरीले सार्वजनिक सूचना जारी गर्दै अपिल गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी तथा प्रवक्ता दीपक पातलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘२२ पुसमा यस कार्यालयमा हुलाकमार्फत् पीडित बालिकाको तर्फबाट जाहेरी प्राप्त भएको थियो। मुलुकी फौजदारी कार्यविधि संहिता दफा ४ (३क) अनुसार सनाखतपछि मात्र जाहेरी दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ। तर पीडित पक्ष सम्पर्कमा नआएकाले समस्या उत्पन्न भएको छ।’
पीडित पक्षका अनुसार १७ पुसमा डढुवा गाउँपालिका–४ मा एक नाबालिकामाथि बलात्कार भएको थियो। तर जाहेरी दर्ता नभएको भन्दै सार्वजनिक रूपमा विभिन्न व्यक्तिहरूले अभिव्यक्ति दिँदै हिँडेकाले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरीका अनुसार पीडित बालिका १७ पुसमै प्रहरीको सम्पर्कमा आएकी थिइन्।
त्यसपछि उनलाई विस्तृत स्वास्थ्य परीक्षणका लागि पठाई प्रारम्भिक अनुसन्धान अघि बढाइएको थियो। तर त्यसपछि हुलाकमार्फत् जाहेरी पठाउने पक्ष अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीको भनाइ छ।
प्रहरी टोली पीडित बालिकाको ठेगानामै पुग्दा पनि सम्पर्क हुन नसकेको र उनका आफन्त, छिमेकी तथा सम्बन्धित संस्थालाई अनुरोध गर्दा पनि जाहेरी सनाखतका लागि पीडित पक्ष नआएको जनाएको छ।

प्रहरीले नाबालिकामाथि भएको जबरजस्ती करणी जस्तो गम्भीर घटनामा बेवास्ता गरिएको भन्ने आरोपको खण्डन गर्दै विज्ञप्तीमा भनेको छ, ‘यस कार्यालयले अत्यन्त संवेदनशील भई गहन रूपमा अनुसन्धान गरिरहेको छ। कुनै पनि दबाब वा प्रभावमा नपरी पीडित पक्ष कार्यालयको सम्पर्कमा आई जाहेरी दरखास्त सनाखत गरी अनुसन्धानमा सहयोग गर्नुहुन अनुरोध गर्दछौं।’







