Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

पोखरा । पोखरा महानगरपालिकाले झाँक्री खोलामा निर्माण गर्न लागेको ल्यान्डफिल साइटको विषयलाई लिएर विवाद चर्किँदै गएको छ। स्थानीयको सहमतिविना काम अघि बढाइएको भन्दै विरोधमा उत्रिएका स्थानीय र जनप्रतिनिधिबीच तनाव उत्पन्न भएको छ।
स्थानीयका अनुसार वडा अध्यक्षले यसअघि भएका गतिविधिबारे चासो नदिएको र अब भोलि गलत कार्य भए पनि प्रश्न गर्न सक्ने अवस्था नरहेको गुनासो गरेका छन्। ल्यान्डफिल साइट निर्माणाधीन क्षेत्रको जग्गा खरिद–बिक्रीमा बिचौलियाको प्रवेशका कारण समस्या थप जटिल बनेको स्थानीयको आरोप छ। जग्गाधनीसँग सस्तोमा बैना गरी महँगो मूल्यमा महानगरलाई बिक्री गर्न केही बिचौलिया सक्रिय रहेको दाबी गरिएको छ।
यसअघि पोखरा–१४ बाच्छे बुडुवामा सञ्चालनमा रहेको ल्यान्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बन्द गरिएको थियो। त्यसपछि पोखराको फोहर अस्थायी रूपमा ६ महिनाका लागि पोखरा–३२ स्थित लामेआहालमा फाल्न थालिएको थियो। तर, ६ महिनाका लागि भनिएको व्यवस्था करिब साढे तीन वर्ष बितिसक्दा पनि स्थायी ल्यान्डफिल साइट निर्माण हुन नसक्दा फोहर अझै लामेआहालमै फालिँदै आएको छ। यस क्रममा स्थानीयले पटक–पटक विरोध गर्दै फोहर ढुवानीमा अवरोध गर्दै आएका छन्।
झाँक्री खोलामा ल्यान्डफिल साइट निर्माण गर्ने योजना पोखरा महानगरले दुई वर्षअघि अघि सारेको थियो। विभिन्न विवाद र अन्य कारणले काम अघि बढ्न नसकेको भए पनि हाल सार्वजनिक–निजी साझेदारी अवधारणामा अघि बढाइएको छ। महानगरले ‘टेरासोल्भ रिन्युवल नेपाल प्रालि’सँग गत २ मंसिरमा ८० करोड रुपैयाँ लागतमा ल्यान्डफिल साइटसहित फोहर प्रशोधन केन्द्र निर्माण गर्ने सम्झौता गरेको छ। सम्झौताअनुसार आगामी २६ महिनाभित्र निर्माण सम्पन्न गरी २५ वर्षसम्म पोखराको फोहर व्यवस्थापन गर्ने योजना रहेको छ।
एक साताअघि स्थानीयहरू ल्यान्डफिल साइट निर्माण सम्झौताबारे जानकारी लिन महानगर कार्यालय पुगेका थिए। जानकारी लिएर फर्किएका स्थानीय शुक्रबार वडा कार्यालयमा विरोध जनाउन जाँदा विवाद भएको हो। महानगरले योजना अघि सारेको सुरुदेखि नै स्वास्थ्यमा पर्ने असर, दुर्गन्ध, वातावरणीय प्रभाव र फोहर व्यवस्थापनसम्बन्धी चिन्ताका कारण स्थानीयले विरोध जनाउँदै आएका छन्।
स्थानीयले कुनै पनि हालतमा झाँक्री खोलामा ल्यान्डफिल साइट निर्माण गर्न नदिने चेतावनी दिँदै आएका छन्। महानगरले स्थानीयको सहमति नलिई गोप्य रूपमा काम अघि बढाएको आरोपसँगै विवाद थप चर्किएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech