धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट ठूलो परिमाणको लागुऔषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले पुस २७ गते राति करिब ८ बजे सडक साइडमा शंकास्पद अवस्थामा रहेको ना.४ च ६४७४ नम्बरको एम्बुलेन्स चेकजाँच गर्ने क्रममा एम्बुलेन्सभित्र प्लास्टिकका पोकामा राखिएको ४५९ किलो ९६५ ग्राम गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार एम्बुलेन्स साँगुरीगढी गाउँपालिका–६ भेडेटार नजिकै रोकिएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा लागुऔषध ओसारपसारमा संलग्न व्यक्ति फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र संलग्नलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ।







