२८ पौष २०८२ काठमाडौं ;- नेपाल प्रहरी इतिहासमा अब्बल र कर्तव्यनिष्ठ अधिकृतका रूपमा परिचित प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस हुन सफल भएका छन्।


प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार आज पौष २८ गते बसेको बढुवा सिफारिस समितिको बैठकले डीएसपी भण्डारी सहित १६ जनालाई प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो। भण्डारी लामो समयदेखि फिल्ड कमाण्ड, अनुसन्धान तथा प्रशासनिक जिम्मेवारीमा कुशलता देखाउँदै आएका भण्डारीको कार्यसम्पादन, अनुशासन र नेतृत्व क्षमताको उच्च मूल्यांकन गरिएको स्रोतको भनाइ छ।
धर्मराज भण्डारीले नेपाल प्रहरीको विभिन्न महत्वपूर्ण इकाइ तथा जिल्लामा रहेर शान्ति सुरक्षा, अपराध अनुसन्धान, सामुदायिक प्रहरी सेवा र विपद् व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। विशेषगरी चुनौतीपूर्ण क्षेत्रमा खटिँदा पनि निष्पक्षता, इमान्दारिता र जनमैत्री प्रहरी सेवामा भण्डारीको भूमिका उदाहरणीय मानिँदै आएको छ।
प्रहरी संगठनभित्र भण्डारी एक अध्ययनशील, स्पष्ट वक्ता र मातहतका कर्मचारीलाई प्रेरित गर्ने कमाण्डरका रूपमा परिचित छन्। संगठनप्रतिको निष्ठा, कानुनी शासनप्रतिको प्रतिबद्धता र सेवाग्राहीमैत्री कार्यशैलीका कारण भण्डारी नेपाल प्रहरी इतिहासमा सम्भावनाशील अधिकृतको सूचीमा अग्रपंक्तिमा रहँदै आएका छन्।
बढुवा सिफारिस सँगै डीएसपी बाट एसपी मा सिफारिस भएका भण्डारीलाई बधाई तथा शुभकामना दिने क्रम पनि बढेको छ। प्रहरी संगठनभित्रका सहकर्मी, शुभेच्छुक तथा नागरिक समाजका व्यक्तिहरूले उनको आगामी जिम्मेवारी अझ प्रभावकारी र परिणाममुखी हुने विश्वास व्यक्त गरेका छन्।
उक्त बढुवा प्रक्रिया अन्तिम स्वीकृतिपछि औपचारिक रूपमा कार्यान्वयनमा आउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।





