काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अन्तर्राष्ट्रिय कल बाइपास अपराधमा संलग्न रहेको आरोपमा ठमेलबाट सात जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
सिआइबीका अनुसार ठमेलको ज्याठास्थित चिनियाँ नागरिक लिउ पानले सञ्चालन गरेको लिउ पान होटल एण्ड रेष्टुरेन्ट मा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरू भिओआइपी (VOIP) प्रविधि प्रयोग गरी अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने कार्यमा संलग्न रहेको खुलेको सिआइबीले जनाएको छ।
अवैध कल बाइपास भइरहेको सूचनाका आधारमा सिआइबीले विशेष अपरेशन सञ्चालन गरेको थियो। छापाका क्रममा भिओआइपीमा प्रयोग हुने विभिन्न उपकरण तथा अन्य प्राविधिक सामग्रीसमेत बरामद गरिएको सिआइबीले जानकारी दिएको छ।
पक्राउ परेका सातै जनालाई मंगलबार नियन्त्रणमा लिइएको हो भने घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।







