बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा पत्रपत्रिका तथा सञ्चार शीर्षकमा विनियोजित लाखौँ रुपैयाँ बजेट मनोमानी ढंगले दुरुपयोग भएको आरोप लागेको छ।
पालिकाका कर्मचारी, केही जनप्रतिनिधि तथा उनीहरू निकटका मिडियाबीच मिलेमतो गरी एउटै मिडियाको नाममा लाखौँ रुपैयाँको कृत्रिम कारोबार देखाएर सरकारी बजेट दोहन गरिएको जनगुनासो बढ्दै गएको छ।
पालिकाले चालु आर्थिक वर्षमा पत्रपत्रिका तथा सञ्चार शीर्षकमा ५७ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको चार महिनामै कुनै ठोस काम नगरी १७ लाख ५४ हजार ८ सय ३० रुपैयाँ खर्च भएको देखिन्छ। उक्त खर्चअनुसार देखिने कुनै पनि काम भने हालसम्म नभएको स्थानीयको भनाइ छ।
विज्ञापन तथा टेण्डरका नाममा ठूलो रकम देखाइने तर वास्तविक रूपमा मिडियालाई थोरै रकम दिएर बाँकी रकम कर्मचारी र केही जनप्रतिनिधिले कमिशनका रूपमा असुल्ने गरेको आरोप समेत लागेको छ।
स्थानीयहरूका अनुसार यस किसिमको कार्य पनि भ्रष्टाचारकै स्वरूप हो। तर, यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने मिडियाकै केही पक्ष कर्मचारीसँग ‘सेटिङ’मा लागेपछि राज्यको रकम नीति विपरीत मनोमानी रूपमा खर्च हुने क्रम बढ्दै गएको छ।
यस विषयमा बैजनाथ गाउँपालिकाका जिम्मेवार अधिकारी तथा जनप्रतिनिधिहरूले कुनै प्रतिक्रिया नदिँदै उदासीनता देखाएको जनाइएको छ। स्थानीयका अनुसार सञ्चार शीर्षक मात्रै होइन, अन्य विभिन्न शीर्षकमा विनियोजित बजेटसमेत यस्तै तरिकाले खर्च हुने गरेको आशंका गरिएको छ।







