काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र जेन–जी अभियन्ता मिराज ढुंगानाको समूहबीच एकताको औपचारिक प्रक्रिया अघि बढेको छ। सर्वपक्षीय नागरिक सरकार गठनको साझा मागसहित दुवै पक्षबीच चारबुँदे सहमति हुन लागेको स्रोतले जनाएको छ।
सहमति अनुसार, दुवै समूहले सर्वपक्षीय सहमति र अन्तरिम नागरिक सरकार गठनका लागि संयुक्त संघर्ष गर्ने निर्णय गरेका छन्। साथै, जेन–जी आन्दोलनबाट हासिल उपलब्धिहरूलाई संस्थागत गर्ने, आन्दोलनका क्रममा पीडित बनेकाहरूका माग पूरा गर्ने विषय पनि सहमतिमा समेटिएको छ।
त्यसैगरी, आन्दोलन र जनचाहनाअनुसार संविधान संशोधन, स्थिर सरकारको सुनिश्चितता, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने विषयमा दुवै पक्ष एकमत भएका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनअघि नागरिक सरकार गठनको माग गर्दै पछिल्लो दुई हप्तादेखि आन्दोलनरत ढुंगानाको समूहसँग भेट गर्न नेकपा (माओवादी) का शीर्ष नेताहरू आज अपरान्ह माइतीघर मण्डला पुग्ने तयारीमा छन्। स्रोतका अनुसार, खुला सडकमै दुवै पक्षले सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी गरेका हुन्।
यो सहमति वर्तमान राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीतिक धारको उदयको संकेतका रूपमा हेरिएको छ।







