काठमाडौं। नेपाल प्रहरीमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदस्थापनसँगै सरुवाको गृहकार्य तीव्र रूपमा अघि बढेको छ। यससँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसहितका केही महत्वपूर्ण कार्यालयको नेतृत्व परिवर्तन हुने भएको छ।
गत पुस २३ गते १० जना प्रहरी उपरीक्षक (एसपी) लाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको थियो। बढुवासम्बन्धी उजुरीका लागि तोकिएको एक साताको समयावधि सकिएकाले आजै बढुवा तथा पदस्थापन हुने सम्भावना रहेको प्रहरी स्रोतले जनाएको छ।
बढुवा सिफारिस सूचीमा रामप्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्ले, श्यामसिंह चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदमबहादुर बिष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा रहेका छन्। उनीहरूको पदस्थापन र सरुवा एकैपटक गरिने तयारी गरिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख बन्न धेरै एसएसपी इच्छुक देखिएका छन्। स्रोतका अनुसार दयानिधी ज्ञवाली प्रमुख दाबेदारका रूपमा हेरिएका छन्। सोही ब्याचका अजय केसी पनि जसरी भए पनि उक्त कार्यालय जान शक्तिकेन्द्र धाइरहेको जानकारी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पाइसकेको स्रोतको दाबी छ।
यसैबीच, केही तालिम केन्द्रका प्रमुखहरू समेत यसपटक परिवर्तन हुने सम्भावना रहेको छ।
एसएसपी बढुवासँगै एसपी तहमा पनि सरुवा गरिने भएको छ। मकवानपुरका एसपी बोहरा बढुवासँगै उक्त जिल्ला रिक्त हुनेछ भने कार्यदलमा कार्यरत एसपी ऋषिराम कँडेल पनि बढुवा हुँदैछन्। साथै, कमजोर कार्यसम्पादन देखिएका केही एसपीलाई हटाउने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ।
आगामी निर्वाचनलाई लक्षित गरी संवेदनशील जिल्लाहरूमा सक्षम अधिकृत पठाउने योजना बनाइएको छ। निर्वाचनको समयलाई ध्यानमा राख्दै यसपटक क, ख र ग वर्गको मापदण्ड पूर्ण रूपमा कार्यान्वयन नहुने सम्भावना पनि देखिएको छ।







