काठमाडौं। नेपाली कांग्रेस दुई समूहमा विभाजित भएसँगै पार्टीको आधिकारिकता कसको भन्ने विषय निर्वाचन आयोगको निर्णयमा पुगेको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको समूह र विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएको दाबी गर्ने गगन थापा नेतृत्वको समूहले आफूहरू नै आधिकारिक भएको दाबी गरेपछि निर्वाचन आयोगले दुबै पक्षका निवेदनमाथि अध्ययन थालेको छ।
निर्वाचन आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले १४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवा समूह र विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा समूहका दाबीमाथि अध्ययन गरिरहेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। उनका अनुसार महाशाखाले अध्ययन सकेर आयोगको नियमित बैठकमा प्रतिवेदन पेश गर्नेछ।
गत पुस २७ देखि माघ १ गतेसम्म चलेको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको हो। निवेदनमा विशेष महाधिवेशनले गरेको निर्णयअनुसार केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न माग गरिएको छ। साथै, आगामी निर्वाचनमा पार्टीका उम्मेदवारको मनोनयनपत्रमा सभापति गगन थापाको हस्ताक्षर रहने उल्लेख गरिएको छ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मनोनयन दर्ता माघ ६ गते तय गरिएको छ। यसअघि नेपाली कांग्रेसबाट मनोनयनपत्रमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहने गरी आयोगमा अभिलेख छ। सो अभिलेख संशोधन गरी गगन थापाको हस्ताक्षर कायम गर्न विशेष महाधिवेशनबाट निर्वाचित समूहले माग गरेको हो।
तर, देउवा पक्षले भने विशेष महाधिवेशन नै अवैधानिक रहेको दाबी गर्दै आजै आयोगमा निवेदन दर्ता गराएको छ। ‘जानकारी सम्बन्धमा’ शीर्षक दिइएको निवेदनमा नेपाली कांग्रेसको नाममा काठमाडौंमा विशेष महाधिवेशन भएको भन्ने समाचारहरू आएको भए पनि त्यो केन्द्रीय कार्यसमितिको औपचारिक कार्यक्रम नभएको उल्लेख गरिएको छ।
गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस २६ देखि माघ १ गतेसम्म विशेष महाधिवेशन आयोजना गरिएको थियो। सो महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको दाबी गरिएको छ। तर देउवा पक्षले उक्त महाधिवेशनलाई पूर्णतः अवैधानिक भन्दै आयोगमा आपत्ति जनाएको छ।
आधिकारिकता विवाद चर्किरहेका बेला आज देउवा पक्षका नेता तथा कार्यकर्ताहरू निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, रमेश लेखक लगायत शीर्ष नेताहरू तथा सयौंको संख्यामा कार्यकर्ताहरू आयोग पुगेका हुन्।
यता, गगन थापा पक्षले कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतको मागमा विशेष महाधिवेशन बोलाइएको र महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधिको उपस्थिति रहेको दाबी गरेको छ। कांग्रेस विधानअनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गर्न सक्ने व्यवस्था रहेकाले आफूहरूको प्रक्रिया वैधानिक भएको गगन पक्षको भनाइ छ।
नेपाली कांग्रेसको आधिकारिकता कसलाई दिने भन्ने विषय अब निर्वाचन आयोगको निर्णयमा निर्भर रहेको छ। आयोगको निर्णयलाई देशभरका राजनीतिक वृत्तले चासोका साथ हेरेका छन्।







