काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको रूपमा मान्यता दिएको छ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार पार्टीको विवरण अद्यावधिक गर्दै आयोगको आज बसेको बैठकले गगन थापा नेतृत्वको पक्षलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो।
यो निर्णयसँगै नेपाली कांग्रेसको आधिकारिक चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डासहित पार्टीको वैधानिक नेतृत्व गगन थापाको हातमा गएको छ। यससँगै शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष पार्टीको आधिकारिक मान्यता र चुनाव चिह्नबाट वञ्चित बनेको छ।
गत २७ देखि ३० पुससम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापतिमा निर्वाचित गरेको थियो। महाधिवेशनपछि थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो।
उक्त निवेदनको विपक्षमा शेरबहादुर देउवा पक्षले पनि आयोगमा छुट्टै निवेदन दर्ता गराएको थियो। दुवै पक्षको कागजात र कानुनी प्रक्रिया अध्ययनपछि आयोगले थापा पक्षलाई आधिकारिक मान्यता दिएको हो।
निर्वाचन आयोगको यो निर्णयसँगै नेपाली कांग्रेसको आन्तरिक विवादले कानुनी टुंगो पाएको छ।







