बाँके। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट युवा उम्मेदवारलाई प्रत्यक्षतर्फ मैदानमा उतार्ने निर्णय गरेको छ।
पार्टीले बाँके निर्वाचन क्षेत्र नं. १ बाट नरेन्द्र पाण्डे (जेम्स), क्षेत्र नं. २ बाट दिपेन्द्र बिष्ट र क्षेत्र नं. ३ बाट दिपक जिएमलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा अघि सारेको हो।
पार्टी नेतृत्वका अनुसार उम्मेदवार छनोट गर्दा युवाहरूको नेतृत्व क्षमता, संगठनात्मक सक्रियता र जनसम्पर्कलाई मुख्य आधार बनाइएको छ। संसदमा परिवर्तन, सुशासन र सामाजिक न्यायका मुद्दालाई प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित युवा नेतृत्वलाई अघि सारिएको पार्टीको भनाइ छ।
नेपाली कम्युनिस्ट पार्टीले युवाको सहभागिताले राजनीतिमा नयाँ ऊर्जा थपिने र जनअपेक्षाअनुसारको प्रतिनिधित्व सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ।







