काठमाडौं । लुटपाटमा संलग्न एक समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार राति काठमाडौंको मुलपानी क्षेत्रमा लुटपाटमा संलग्न समूहका सदस्यलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो।
प्रहरीका अनुसार लुटपाटमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको हो। सो घटनामा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्।
घाइतेको खुट्टामा गोली लागेको र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको पनि प्रहरीले जानकारी दिएको छ।
प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट हालसम्म लुटपाटमा संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको जनाएको छ। तीमध्ये दुई जनालाई मुलपानी क्षेत्रबाट पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएको थियो।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू मोटरसाइकल प्रयोग गरी लुटपाट गर्ने समूहका सदस्य हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।







