बर्दिया । जिल्ला बर्दिया, बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्ल घुस/रिसवत लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्।
बारबर्दिया नगरपालिका वडा नं. ७ स्थित जनता माध्यमिक विद्यालय, रम्भापुरमा निर्माणाधीन ४ कोठे भवनको अन्तिम बिल भुक्तानी सहजीकरण गरिदिने बहानामा उनले सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस माग गरेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्राप्त भएको थियो।



उक्त सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल तथा सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले इन्जिनियर मल्ललाई मिति २०८२ माघ १५ गते सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनलाई सोही रकमसहित बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखाबाट पक्राउ गरिएको आयोगले जनाएको छ।
हाल पक्राउ परेका इन्जिनियर मल्लमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।





