काठमाडौं। आगामी निर्वाचनमा ‘जेन–जीको जुत्ता’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका डा. कमल (निकोलस) भुसालले महत्वाकांक्षी योजनासहितको आफ्नो चुनावी घोषणापत्रको मस्यौदा सार्वजनिक गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त अवधारणामा उनले वि.सं. २०९० सम्म नेपाललाई ‘हरित स्वर्ग’ र सन् २१०० सम्म विश्व शान्ति संगठनमार्फत पृथ्वीलाई नै स्वर्गको रूपमा चिनाउने दाबी गरेका छन्।
घोषणापत्र लेखनकै चरणमा रहेको उल्लेख गर्दै डा. भुसालले आम नागरिकबाट सुझावसमेत अपेक्षा गरेका छन्। उनले आर्थिक, सामाजिक तथा शासकीय सुधारका लागि समयसीमासहितका प्रतिज्ञाहरू अघि सारेका छन्।
उनका अनुसार पदभार ग्रहण गरेको एक महिनाभित्र ‘जेन–जी’ पुस्ताका सम्पूर्ण माग पूरा गरिनेछ भने तीन महिनाभित्र सहकारी, लघुवित्त र मिटरब्याज पीडितहरूको डुबेको रकम फिर्ता गराइनेछ।
त्यस्तै, एक वर्षभित्र शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा, खानेपानी र बिजुली पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने, तीन वर्षभित्र स्वदेशमै रोजगारी सिर्जना गरी देशको सम्पूर्ण ऋण तिर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ।
डा. भुसालले पाँच वर्षभित्र ३ हजार खर्बको अर्थतन्त्र निर्माण गरी सबै नेपालीलाई करोडपति बनाउने र आठ वर्षभित्र नेपाललाई स्वर्गको नमुना राष्ट्र बनाउने दाबी गरेका छन्।
राज्यको शासकीय स्वरूपमा आमूल परिवर्तनको प्रस्ताव गर्दै उनले नेपाललाई वैदिक सनातन हिन्दू, बुद्ध र किरात राष्ट्र घोषणा गर्ने बताएका छन्। हालको संघीय संरचनाप्रति असहमति जनाउँदै प्रदेश सभा र मन्त्रीहरू खारेज गर्ने तथा शिक्षा र स्वास्थ्यको पूर्ण जिम्मेवारी राज्यले लिने नीति अघि सारेका छन्।
उनले नेपालका खानी, पानी, जंगल, जलस्रोत र जडीबुटीको वैधानिक प्रयोगमार्फत आर्थिक क्रान्ति गर्ने र सुशासनयुक्त नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आयात न्यूनीकरण गर्दै तीन वर्षभित्र व्यापार घाटा अन्त्य गर्ने र यातायात व्यवसायलाई सम्मानित पेसाको रूपमा स्थापित गर्ने योजना पनि समेटिएको छ।
विशेष रूपमा रूपन्देही जिल्लालाई केन्द्रमा राख्दै उनले स्थानीय विकासका खाका प्रस्तुत गरेका छन्। बुटवललाई शिक्षा, तिलोत्तमालाई औद्योगिक र सैनामैनालाई सूचना प्रविधिको केन्द्र बनाउने उनको योजना छ।
लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा स्तरोन्नति गर्ने, तिनाउ खोलाको तटबन्ध, सुकुम्बासी समस्याको दीर्घकालीन समाधान र ज्योतिनगरको पहिरो नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ।
पर्यटन प्रवर्द्धनका लागि एक वर्षमा एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित धार्मिक धाम तथा पार्कहरूको स्तरोन्नति गर्ने, हरेक वडामा खेल मैदान र ‘एक प्रदेश, एक रंगशाला’ निर्माण गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
नेपाल गरिब देश नभई गरिब बनाइएको दाबी गर्दै डा. भुसालले राष्ट्रियता, एकता, मानवता र आत्मनिर्भरतालाई मूल सिद्धान्तका रूपमा अघि सारेका छन्। ‘देशको खाऊँ, देशको लगाऊँ र देशमै रमाऊँ’ भन्ने नारासहित आत्मनिर्भर नेपाल महाअभियान सञ्चालन गर्ने उनको मुख्य एजेन्डा रहेको छ।







