१५ माघ २०८२ कैलाली ; — इलाका प्रहरी कार्यालय मालाखेति, कैलालीमा कार्यरत प्रहरी निरीक्षक पुस्कर पन्त जिल्ला प्रहरी कार्यालय कैलालीबाट ‘Police of the Month’ घोषित भएका छन्। प्रहरी संगठनमा अब्बल र कर्मठ अधिकृतका रूपमा परिचित पन्तले आफ्नो जिम्मेवारीप्रति देखाएको व्यावसायिकता, अनुशासन र नेतृत्व क्षमताको उच्च मूल्याङ्कनस्वरूप उक्त सम्मान प्राप्त गरेका हुन्।



शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा सेवाग्राहीमैत्री प्रहरी सेवामा उल्लेखनीय योगदान पुर्याउँदै आएका निरीक्षक पन्तले यसअघि लुम्बिनी प्रदेशको ट्राफिक व्यवस्थापनमा चुनौतीपूर्ण मानिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुखका रूपमा पनि सफलता पूर्वक जिम्मेवारी सम्हालिसकेका छन्। ट्राफिक व्यवस्थापन सुधार, जनचेतना अभिवृद्धि तथा संस्थागत समन्वयमा उनले खेलेको भूमिका प्रशंसनीय मानिएको थियो।
हाल मालाखेति क्षेत्रमा कार्यरत रहँदा पन्तले समुदाय–प्रहरी साझेदारीलाई प्राथमिकता दिँदै शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, अपराध न्यूनीकरण गर्ने तथा नागरिकको विश्वास जित्ने दिशामा निरन्तर प्रयास गर्दै आएका छन्। उनको कार्यशैली, निर्णय क्षमता र निष्ठाले प्रहरी संगठनभित्र सकारात्मक सन्देश प्रवाह गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यस सम्मानले प्रहरी निरीक्षक पन्तलाई थप जिम्मेवारी र प्रेरणा मिलेको छ भने प्रहरी संगठनमा उत्कृष्ट कार्यसम्पादन गर्ने अन्य प्रहरी कर्मचारीका लागि पनि उदाहरणीय बनेको छ।





