१६ माघ २०८२ कोहलपुर ; बाँकेको कोहलपुर–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलले आफ्नो स्थापनाको २५ औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको रजत महोत्सव (Silver Jubilee) कार्यक्रम भव्य रूपमा दोस्रो दिन पनि सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त समारोहमा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व, स्थानीय जनप्रतिनिधि, अभिभावक, पूर्व विद्यार्थी तथा वर्तमान विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि प्रा. डा. गोविन्द प्रसाद ढकालले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगत दुई दशकभन्दा बढी समयदेखि विद्यालयले गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्दै समाजमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।

रजत महोत्सवको अवसरमा विद्यालयले शैक्षिक प्रदर्शनीको आयोजना गर्नुका साथै विद्यार्थीहरूले विभिन्न जातजातिका सांस्कृतिक नृत्य, साङ्गीतिक कार्यक्रम तथा कक्षागत प्रस्तुतिहरू प्रदर्शन गरेका थिए। साथै SEE र SLC परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा अभिभावकहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। अभिभावकज्यूहरूबीच आयोजना गरिएको मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा विजयी समूहलाई समेत पुरस्कृत गरिएको थियो।
महोत्सवको विशेष आकर्षणका रूपमा पूर्व विद्यार्थी समाजको पहलमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक श्री साधना थापाले स्वागत मन्तव्य राख्दै विद्यालयको २५ वर्षे गौरवपूर्ण यात्राको चर्चा गर्नुभयो। उहाँले आगामी दिनमा विद्यालयलाई प्रविधिमैत्री बनाउँदै अन्तर्राष्ट्रिय स्तरको शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। सो अवसरमा अभिभावक प्रतिनिधिले पनि विद्यालयको चौतर्फी विकास र विद्यार्थीहरूको सृजनात्मक क्षमताको प्रशंसा गर्दै आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशर बहादुर आलेले २५ औँ रजत जयन्तीको अवसरमा विद्यालयको २५ वर्षे यात्रालाई स्मरण गर्नुभयो। उहाँले शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको निरन्तर सहयोगकै कारण विद्यालय आजको अवस्थामा आइपुगेको बताउँदै आगामी दिनमा गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यलाई प्राथमिकतामा राखी विद्यालयलाई अझ उत्कृष्ट व्यवहारिक शिक्षा प्रदान गर्ने केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसरी गोरखा युनाइटेड पब्लिक स्कुलको २५औँ रजत महोत्सव विविध शैक्षिक, सांस्कृतिक तथा सामाजिक गतिविधिसहित सफलतापूर्वक सम्पन्न भएको छ।






