पोखरा। जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको सरकारी इन्सास राइफल कास्की प्रहरीले बरामद गरेको छ। पोखरा महानगरपालिका–२ भिमसेन टोलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५.५६ एमएमको इन्सास राइफल फेला परेपछि प्रहरीले दुई जना १८ वर्षीय युवकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिति २०८२ माघ १९ गते दिउँसो दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा महोत्तरी स्थायी घर भई हाल पोखरा–९ नयाँबजार बस्ने रवि चौधरी र भारत स्थायी घर भई हाल पोखरा–२ अर्चलबोट बस्ने राज कुमार रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले जेनजी आन्दोलनका क्रममा लुटिएको उक्त हतियार दाउराको खलियोभित्र लुकाएर राखेका थिए। बरामद गरिएको इन्सास राइफल सरकारी स्वामित्वको भएको पुष्टि भइसकेको छ।
बरामद हतियारसहित दुवै जनामाथि हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







